गोरखा अस्पतालप्रति विश्वास जगाऔं
सरकार कमजोर, नीजि क्षेत्र बलियो हुनु नेपाल जस्तो अविकसित मुलुकको विशेषता हो । साल्ट टूेडिङ, नेशनल टूेडिङ, विद्युत प्राधिकरण, नेपाल टेलिकम जस्ता सरकारी संस्थानहरु घाटामा चल्नु, नीजि क्षेत्रले चलाएका सबै व्यापारिक प्रतिष्ठानहरु दिन दुगुना, रात चौगुना नाफामा चल्नु, गोरखकाली रबर उद्योग, बुटबल धागो, भृकुटी कागज, बिराटनगर जुटमिल जस्ता सरकारी उद्योगहरु घाटामा चल्नु बिडम्बना हो । सरकारी निकायलाई डुबाएर नीजि निकायलाई फस्टाउनुमा मुख्य भूमिका सरकारकै देखिने गरेको छ । त्यसपछि त्यहाँ काम गर्ने कर्मचारी तथा मजदुर, बिचौलिया तथा माफिया र सर्बसाधारण पनि त्यसको हिस्सेदार देखिने गरेका छन् ।सुबिधा सम्पन्न भएर पनि सरकारी अस्पताल भन्दा सोही अस्पतालको गेटनेरैको क्लिनिक गुल्जार हुनु हामीलाई अस्वभाविक जस्तै लाग्न छोडेको छ । जताततै त्यस्तै देखेपछि अस्वभाविक पनि स्वभाविक हुने रहेछ ।
गोरखा अस्पताल पनि यस्तै एउटा बिडम्बनाको नमूना हो । विशेषज्ञको दरबन्दी पूर्ति नगरेर गोरखा अस्पताललाई सरकारले बिरामीलाई नीजि अस्पताल, क्लिनिक तथा जिल्ला बाहिरका अस्पतालहरुमा जान बाध्य पारिराखेको छ । अस्पतालमा निशुल्क औषधि समेत पर्याप्त छैन । फार्मेसी खुल्ने र बन्द हुने क्रम चलिरहन्छ । तर, सधै यस्तै हुने भए अस्पतालप्रति जनविश्वास घट्दै जान्छ । यसैले आफ्नो मातहतमा रहेको यो अस्पतालमा रीक्त दरबन्दी पुर्ति गर्न प्रदेश सरकारले ढिलाई गर्नु हुन्न । अस्पतालमा बिरामी पुगेपछि सजिलै उपचार पाउने वातावरण ब्यबस्थापन समिति र कर्मचारीले बनाउनुपर्छ । अस्पताल नाम मात्रको होईन, सेवा सुविधा सहितको बनाउन सरोकारवाला सबैले जिम्मेवारीबोध गर्नुपर्छ ।




