
गोरखा अस्पतालको स्तरोन्नति र बढ्दो जनविश्वास
प्रदेश अस्पताल गोरखामा पछिल्ला वर्षहरूमा उपचारका लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको छ । बिरामीको संख्या बढ्नु सुखद पक्ष पटक्कै होइन, तर गुणस्तरीय स्वास्थ्य सेवा लिन बाहिर जिल्लाका अस्पताल जाने क्रम रोकिनु र त्यो संख्या गोरखा अस्पतालमा थपिनुचाहिँ सुखद पक्ष हो ।
५० शैयामा स्तरोन्नति भएसँगै अस्पतालले विशेषज्ञ सेवा, नयाँ प्राविधिक उपकरण र विस्तारित प्रयोगशाला परीक्षणमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । तीन वर्षअघि वर्षभरिमा ५१ हजार बिरामीले सेवा लिएकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर एक लाख १२ हजार पुग्नुले अस्पतालप्रति सर्वसाधारणको बढ्दो जनविश्वासलाई प्रष्ट पार्छ ।
विगतमा सामान्य शल्यक्रिया(माइनर अपरेशन) वा सुत्केरी गराउनका लागि पनि चितवन, काठमाडौँ धाउनुपर्ने बाध्यता गोरखाबासीका लागि सामान्य जस्तै थियो । तर, अस्पतालमा उपचार पद्धतिको स्तरवृद्धि भएसँगै अहिले जटिल मानिने शल्यक्रिया(मेजर अपरेशन) र सुरक्षित सुत्केरी सेवा जिल्लाभित्रै उपलब्ध हुन थालेको छ । आफ्नै जिल्लामा सहज, सुलभ र भरपर्दो स्वास्थ्य सेवा पाउनु जिल्लावासीका लागि ठूलो राहत र सुखद समाचार हो ।
स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाको अभाव ग्रामीण भेगबाट हुने तीव्र बसाइँसराइको मुख्य कारणमध्ये एक हो । यदि गोरखा अस्पतालले आगामी दिनहरूमा पनि आफ्ना विशेषज्ञ सेवाहरूलाई अझै विस्तार गर्दै लैजाने हो भने, गुणस्तरीय स्वास्थ्य सेवा खोज्ने बहानामा हुने बसाइँसराइलाई धेरै हदसम्म रोक्न सकिन्छ । आगामी दिनमा अस्पतालको पूर्वाधार, जनशक्ति र प्रविधिलाई अझ सुदृढ बनाउँदै सबै वर्गका नागरिकलाई सहजरूपमा गुणस्तरीय सेवा दिन स्थानीय, प्रदेश र संघ सरकारको ध्यान निरन्तर पुगिरहोस् ।
गोरखा अस्पतालले अझै विभिन्न नयाँ नयाँ उपचार सेवा विस्तार गर्ने योजना बनाएको छ । इन्डोस्कोपी, इसिजी सेवा दिन सुरु गरेको अस्पतालले डाइलासिस सेवा मौजुदा अवस्थाभन्दा वृद्धि गर्ने भएको छ । अस्पताल अझै सेवामा थप गर्दै जाओस् । जिल्लाबासीले जिल्लाभित्रै थप स्वास्थ्य सेवा पाउन् ।




