
झार मार्ने विषादी प्रयोग नगर्न आग्रह
झार मार्न प्रयोग हुने विषादीको प्रयोग नगर्न गोरखाको सिरानचोक गाउँपालिकाले आग्रह गरेको छ । घर, गोठ तथा खेतीबाली आसपास झाडी कम गर्ने उद्देश्यले झार मार्ने विषादी प्रयोग गर्ने प्रचलन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पालिकाले खेत बारीमा प्रयोग गर्ने गरिएको झारनाशक (झार मार्ने विषादी) प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको हो ।
‘हिजोआज पालिकाबासीहरुले आफ्ना घर आँगन र खेतबारीमा अनियन्त्रित रुपमा झारनाशक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । फेशन र देखासिकीका रुपमा वढ्दै गइरहेको झारनाशकको प्रयोगले मानव तथा पशुचौपायाको स्वास्थ्यमा तत्कालिन र क्यान्सर जस्ता दीर्घकालीन रोग निम्त्याउन सक्छ’, पालिकाद्वारा जारी सूचनामा भनिएको छ, ‘त्यस्ता विषादीले वातावरण प्रदूषण, दीर्घकालीन माटोको उर्वराशक्तिमा हास तथा पानीको स्रोत प्रदूषित पार्ने र समग्र पर्यावरणलाई नकारात्मक असर पर्दछ ।’ साथै मौरीका लागि पनि झारनाशकको प्रयोग अति हानिकारक रहेको पालिकाको ठम्याइ छ ।
‘यसले मौरीको चरन तथा खानाको अभाव, मौरीको पाचन प्रणालीमा गडबडी, स्मरण शक्तिमा हास, वृद्धि विकासमा ढिलाई तथा मह र मैनमा समेत झारनाशक विषादीको अवशेष देखापर्ने जस्ता समस्याहरु आउँछन्’ पालिकाको सूचनामा भनिएको छ, ‘तसर्थ, सकेसम्म झारनाशक विषादी प्रयोग नगर्न र गर्ने परेमा झारनाशक प्रयोग गर्नु अगाडि झारनाशक विषादीको विस्तृत जानकारी लिनु अति आवश्यक छ ।’
यसको किसिम, कुन झार र कुन अवस्थाको झार मार्ने सम्बन्धि विस्तृत जानकारी यस अघि नै सिफारिस गरिएको मात्रा मात्र प्रयोग गर्न पालिकाको सुझाव छ । त्यस्तै विषादी प्रयोग नगरी नहुने भएमा सुरक्षित पहिरन लगाउने तथा मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।




