| बुधबार, साउन २६, २०८३

गोरखा अस्पतालको सकारात्मक रूपान्तरणः बढ्दो सेवा र जनविश्वास

जिल्लाकै जेठो उपचार थलोको रूपमा रहेको प्रदेश अस्पताल गोरखाले पछिल्लो समय स्वास्थ्य सेवामा गरेको गुणात्मक सुधार र विस्तार प्रशंसनीय छ । २०२१ सालदेखि निरन्तर सेवा दिइरहेको यस अस्पतालले मंगलबारदेखि नाक, कान र घाँटी (इएनटी) सम्बन्धी विशेषज्ञ सेवा सुरु गरेर जिल्लाबासीलाई ठूलो राहत दिएको छ । विगतमा सामान्य समस्या हुँदा पनि चितवन वा काठमाडौँ धाउनुपर्ने र रिफर हुनुपर्ने बाध्यात्मक अवस्थाको अब अन्त्य भएको छ । यसले सर्वसाधारणको समय र पैसा दुवै बचत गरिदिएको छ । तीन वर्षयता अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या तेब्बरले वृद्धि हुनुले अस्पताल प्रतिको जनविश्वास कति मजबुत बन्दै गएको छ भन्ने पुष्टि गर्छ ।

नियमित हेमोडायलाइसिस मेसिन थपिनु, विशेषज्ञ डेन्टल सेवा र भदौदेखि इनडोर फार्मेसी संचालन गर्ने तयारीले व्यवस्थापनलाई थप चुस्त बनाउँदै लगेको छ । चालु आर्थिक वर्षभित्रै अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने र सिटि स्क्यान, आई.सि.यू तथा गर्भावस्थाका जटिल परीक्षणहरू (एनोमली स्क्यान र फिटल इकोकार्डियोग्राफी) स्थानीय स्तरमै उपलब्ध गराउने महत्वाकाङ्क्षी योजना गौरवपूर्ण छन् । यी योजनाहरू कागजमा मात्र सीमित नभई समयमै कार्यान्वयन हुनुपर्छ । तर, सुखद पक्षका बीच अस्पतालले भोगिरहेको जनशक्तिको चरम अभाव र भौतिक पूर्वाधारका चुनौतीहरूलाई राज्यले नजरअन्दाज गर्न मिल्दैन ।

मात्र ४ जना नर्सले ५० जना बिरामी हेर्नुपर्ने चुनौतीपूर्ण बाध्यता र पर्याप्त बेड नभएकै कारण अझै पनि दैनिक ५/६ जना बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था व्यवस्थापकीय र शासकीय कमजोरी हो । अस्पतालले गुणस्तरीय सेवा दिएर बिरामीको चाप बढाए पनि आवश्यक दरबन्दी र संरचनाका लागि जग्गा अभाव हुनु दुःखद छ । तसर्थ, संघीय तथा गण्डकी प्रदेश सरकारले यो बढ्दो जनविश्वासलाई कायम राख्न तत्काल थप दरबन्दी स्वीकृत गर्न र भौतिक पूर्वाधारका लागि जग्गा व्यवस्थापन गरिदिनु अपरिहार्य छ । अस्पतालको यो सकारात्मक रूपान्तरणलाई टिकाउ र प्रविधिमैत्री बनाउन सम्पूर्ण सरोकारवाला एकजुट हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्