
युवा दिवस रास्वपाले गोरखाका ११ वटै पालिकामा विभिन्न कार्यक्रम गरी मनाउने
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार गोरखाका सबै पालिकामा फरक फरक कार्यक्रम गरी मनाइने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रको आव्हानमा जिल्लाका सबै पालिका कमिटीले भिन्नभिन्न कार्यक्रम गरी मनाउन लागेको जिल्ला सचिव मिलन रानाले जानकारी दिए ।
‘गोरखा नगरपालिकामा बिसौनी मोडदेखि गोरखा क्याम्पससम्म सरसफाइ कार्यक्रम गरिने भएको छ’, नगरसभापति शिशिर प्रधानले भने, ‘१४ वटै वडाका करिब ६0/७० जना युवाहरु सरसफाइ अभियानमा सहभागी हुने हाम्रो अनुमान छ ।’
त्यस्तै अजिरकोट गाउँपालिकामा युवाको उर्जा क्षमता र सिर्जनशिलता लाई राष्ट्र निर्माणसंग जोड्न ‘युवा सहभागिता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्व’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जिल्ला सचिव रानाले जानकारी दिए ।
त्यस्तै बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकामा पनि सरसफाइ कार्यक्रम आयोजना गरिएको उनले बताए ।
अन्तर्राष्ट्रिय युवा दिवस हरेक वर्ष अगस्त १२ का दिन विश्वभर मनाइने एक विशेष दिवस हो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९९९ डिसेम्बर १७ का दिन निर्णय गरी सन् २००० देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरेको हो । यस दिवसको मुख्य उद्देश्य समाज, राजनीति, अर्थतन्त्र र विकासका विविध क्षेत्रमा युवाहरूको भूमिकालाई पहिचान गर्नु र उनीहरूले भोगिरहेका समस्याहरू बारे ध्यानाकर्षण गराउनु हो ।




