
च्याङ्लीको प्रयोगविहिन भवन उपयोगका बारेमा एपिएफको हेडक्वाटरद्वारा अनुगमन
पालुङ्टार नगरपालिका ७ पुर्नेपिपल, आहालेवरमा निर्माण भएर अलपत्र परिरहेको १२० कोठा भएको पाँचतले हवेली कसरी प्रयोग गर्ने भन्ने बारे सशस्त्र प्रहरीले अनुगमन तथा निरीक्षण गरेको छ । सशस्त्र प्रहरीको मुख्यालयबाट मानव स्रोत विभागका प्रमुख एआईजी अञ्जनी कुमार पोखरेल नेतृत्वको टोलीले आइतबार अनुगमन, निरीक्षण गरेको हो । अनुगमनका क्रममा सशस्त्र प्रहरी बलको गण्डकी प्रदेश प्रमुख वाहिनीपति डिआईजी प्रवीण कँडेल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक विकास घिमिरे, सशस्त्र प्रहरी बल नेपाल नंबर २९ गुल्मका गुल्मपति डिएसपी सुदीप रेग्मीलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै पालुङ्टार नगरपालिकाका प्रमुख विवश चिन्तन, उपप्रमुख वन्दना पाण्डे लगायत सहभागी थिए । ‘सशस्त्र प्रहरी स्कूल बनाउन हामीलाई दिने भन्ने समझदारी अनुसार सहरी विकास मन्त्रालयबाट नगरपालिकाले स्वामित्व लिएको छ । अब नगरपालिकाले हामीलाई हस्तान्तरण गर्नेछ’, डिआईजी कँडेलले भने, ‘तर हामीले लिएपछि कसरी प्रयोग गर्न सकिन्छ ? भन्ने बारे स्पष्ट मार्गचित्र नबनाई हामीले पनि लिन हुँदैन । त्यसैले हामीले यसलाई विपद् व्यवस्थापन स्कूल, एपिएफ स्कूल, व्यवसायिक प्रशिक्षण केन्द्रका रुपमा प्रयोग गर्न सक्छौं ।
हेडक्वाटरबाट विभागीय प्रमुख नै अवलोक गर्न आउनु भएकाले उहाँले यस बारेमा एकहप्तामा कुनै खाका तयार गर्नुहोला । अनि हामीलाई त्यही अनुसार सर्कुलर होला ।’ गृहमन्त्री तथा गण्डकी प्रदेशका मु्ख्यमन्त्रीले समेत यसको बारेमा अध्ययन गरी केही गर्नुपर्छ भन्ने चिन्ता गरेकाले छिट्टै कुनै निश्कर्ष आउने डिआइजी कँडेलले जान कारी दिए । २०७२ सालको भूकम्पपछि घरबासबिहिन भूकम्प पिडितहरु लाई आश्रय दिने उद्देश्यले निर्माण गरिएको यो हवेली नौ बर्षदेखि रित्ताको रित्तै छ ।
करिब सात रोपनी सार्वजनिक जमिन चर्चेर ३१ करोडको लागतमा निर्माण गरिएको यी भीमकाय भवन अहिले माकुराको जालो र झाडीभित्र थोत्रिरहेको छ । यहाँ पाँच तला भएका भीमकाय चारवटा भवनहरु छन् ।
तारबार गरेर कम्पाउण्डिङ गरिएको छ । सबै गरेर यहाँ १२० वटा कोठा छन् । विजुली, पानी, सौचालय, सबै सुविधासम्पन्न छन् । झण्डै चार बर्ष लगाएर बनेको सो हवेलीमा भूकम्प पीडित सुकुम्बासी बस्न नमानेपछि प्रयोगविहिन अवस्थामा अलपत्र छ ।
३१ करोडमा निर्माण भएको सार्वजनिक सम्पत्तिलाई कसरी प्रयोग गर्ने भन्ने विषय अनिर्णित हुँदा यी भवनहरु नौ बर्षदेखि थोत्रिएका छन् । महलभित्र पस्ने गेट खुल्लै छ, तर भवन झाडीले ढाकेकाले भित्र छिर्न मुस्किल छ । ठूला लाइटिङ् सिस्टमहरु बेस्याहार छन् ।
स्याहार सम्भारको अभावमा कतै घामपानीले रङ खुइलिसकेका छन् । एपिएफको मु्ख्यालय तथा गण्डकी प्रदेशका प्रमुखसमेत आएर निरीक्षण गरेपछि छिट्टै कुनै निश्कर्ष आउनेमा स्थानीयबासी आशावादी छन् ।




