| सोमवार, कार्तिक २३, २०८३

पालुङटारमा महिलालाई बाँधेर लुटपाट गर्ने दुई युवा पक्राउ

पालुङटारमा एक महिलालाई नियन्त्रणमा लिएर नगद तथा कागजात लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पालुङटार नगरपालिका वडा नं. २ का २२ वर्षीय श्रीकृष्ण परियार र सोही ठाउँमा बस्ने २३ वर्षीय कुशल एसी रहेका छन् ।

उनीहरुले गत साउन ५ गते राती पालुङटार–२ भण्डारी चौतारास्थित सार्वजनिक बाटोमा सिरानचोक गाउँपालिका–३ हर्मिटबाट आफ्नो घर पालुङटार २ तर्फ जाँदै गरेकी दुर्गा एसीलाई नकापधारी भेसमा प्लास्टिकको बोराले मुख छोपी, नाइलनको डोरीले बाँधेर लुटपाट गरेका थिए । उनीहरूले दुर्गाको झोलाभित्र रहेको एकलाख ७० हजार रुपैयाँ तथा अन्य कागजातहरू लुटेर फरार भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए ।

घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका परियार र एसी बिरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्