
बिकराल बन्दै नसर्ने रोग र मानसिक रोग, सहरी क्षेत्रबाट पहाडी र हिमाली भेगमा पनि फैलिँदै
पछिल्लो केही वर्षयता विश्वभर नसर्ने रोग र मानसिक रोग महा मारीका रुपमा फैलदै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ । मानिसहरुको बदलिदो जीवनशैली, असन्तुलित आहार र शारीरिक निष्क्रियताका कारण यस्ता रोगहरु बढ्दै गएका हुन् । गोरखामा पनि नसर्ने रोग र मानसिक रोग तिव्र रुपमा बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा संचालित नसर्ने रोगको स्क्रिनिङ शिविरले जिल्लामा नसर्ने रोग र मानसिक रोग तिव्र रुपमा बढेको देखाएको हो ।
शिविरमा मधुमेह, उच्च रक्तचाप, रक्तअल्पता, मानसिक समस्या तथा अन्य नसर्ने रोगहरुको स्क्रिनिङ गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका नसर्ने रोग कार्यक्रम संयोजक नारायणबाबु अर्यालले बताए । ‘प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजना र जिल्लाका विभिन्न स्थानीय तहहरुको समन्वयमा शिविर संचालन भएको थियो’, उनले भने, ‘शिविरमा जिल्लाका सबै भेगका अधिकांश मानिसहरुमा नसर्ने रोगहरु देखिएको छ । जुन चिन्ताजनक विषय हो ।’
कार्यालयले नसर्ने रोगहरुको स्क्रिनिङ शिविरमार्फत जिल्लाभर एकहजार ३२९ जनाको रक्तचाप परीक्षण गरेको थियो । जसमध्य २३.७५ अर्थात तीनसय १५ जना उच्च रक्तचापबाट प्रभावित भएको पाइएको नारायणबाबु अर्यालले जानकारी लिए । उनका अनुसार शिविरमार्फत एकहजार ५१९ जनाको मधुमेह परीक्षण गरिएको थियो । उनीहरुमध्य २५.४७ प्रतिशत अर्थात तीनसय ८७ जनामा प्रिडाइबेटिज र ८.१६ प्रतिशत अर्थात एकसय २४ जनामा डाइबेटिज पुष्टि भएको उनले बताएका छन् । सबैभन्दा धेरै आरुघाट गाउँपालिकाको अलैचेमा प्रिडाइबेटिज र डाइबेटिजको अवस्था देखिएको उनको भनाई छ ।
यस्तै, एकहजार ३३४ जनाको बिएमआई परीक्षण गरिएकोमा ३२.२ प्रतिशत अर्थात चारसय ३० जनाको तौल बढी देखिएको र ६.४ प्रतिशत अर्थात ८६ जनामा मोटोपना देखिएको कार्यालयलको तथ्याङ्कमा उल्लेख छ । मोटोपना भएका व्यक्तिहरुमा कारण उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल वृद्धि, मुटुरोग तथा क्यान्सरको जोखिम समेत बढी हुने प्रदेश जनस्वास्थ्य कार्यालका नसर्ने रोग कार्यक्रम संयोजक नारायणबाबु अर्यालले बताएका छन् ।
जिल्लामा नसर्ने रोगको समस्या एउटै प्रकृतिको नभई ठाउँ अनुसार फरक/फरक रहेको उनी बताउँछन् । ‘जिल्ला कारागारमा उच्च रक्तचाप र मानसिक स्वास्थ्यको बिरामी धेरै छन् । आरुघाटको अलैचेमा मधुमेहका बिरामी धेरै’, उनले भने, ‘बारपाक सुलिकोटको रन्चोकमा श्वासप्रश्वास सम्बन्धी रोग, उहियामा कुपोषण र न्यून रक्तचाप र पालुङटारको खोप्लाङमा कोलेस्टेरोल र अस्वस्थ आहार मुख्य चुनौतीका रूपमा देखिएका छन् ।’
ठाउँ अनुसार फरक, फरक प्रकृतिका नसर्ने रोगहरु देखिएकाले त्यसको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्रमा एउटै कार्यक्रम लागू गर्नका सट्टा स्थानीय आवश्यकता र जोखिमअनुसार कार्यक्रम सञ्चालन गर्नु प्रभाव कारी हुने अर्यालले जनाए ।
नसर्ने रोगका जोखिमहरू जन सांख्यिक तथा सामाजिक अवस्था अनुसार पनि फरक÷फरक रहेको उनले बताए । उनी भन्छन्, ‘पुरुषमा धूम्रपान, मद्यपान र उच्च रक्तचाप को समस्या उल्लेख्य रूपमा बढी देखिएको छ भने महिलामा मोटोपनको दर बढी पाइयो ।’ उमेर बढ्दै जाँदा रक्तचाप र मधुमेहको समस्या बढ्ने प्रवृत्ति देखिएको उनको भनाइ छ ।
गोरखामा नसर्ने रोगहरु शहरमा मात्र नभई गाउँबस्ती र हिमाली क्षेत्रहरुमा पनि तिव्र रुपमा फैलिएको देखिएको हो । सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, धूम्रपान र मद्यपानबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने तथा नियमित रूपमा रक्तचाप र मधुमेह जाँच गर्ने बानीले अधिकांश नसर्ने रोगबाट बच्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
प्रदेश जनस्वास्थ्य कार्यालयले धार्चे गाउँपालिका ३ उहिया, गोरखा नगरपालिका ६ जिल्ला कारागार, बारपाक सुलिकोट गाउँपालिका ४ रन्चोक, आरुघाट गाउँपालिका ६ अलैचे र पालुङटार नगरपालिका १ खोप्लाङमा गरी जम्मा एकहजार ५८४ जनामा स्क्रिनिङ गरेको थियो ।
साथै, कार्यालयले विभिन्न प्रश्नपत्र तयार गरी मनोसामाजिक परामर्शकर्तामार्फत धूम्रपान, मद्यपान, शारीरिक गतिविधि, आहार बानी, योग तथा ध्यान अभ्यास र स्वास्थ्य बिमाको पहुँचसम्बन्धी जानकारी तथा चिन्ता (एन्जाइटी) र डिप्रेसनको लक्षण पहिचान गरेको उल्लेख छ ।




