| बुधबार, साउन १२, २०८३

दाईजोमा तराईमा क्यास, पहाडमा उपहार

मञ्जु तिवारी
समाज थरिथरीका हुन्छन् । तर, समाज भने जहाँसुकै हुँदैन । कुनै चोकचौराहामा समाजको वास्तविक मूल्यमान्यता थाहा पाउन सकिँदैन । किनभने, चोकमा समाज हुँदैन । त्यसको लागि त समाजभित्रैको कथावस्तुलाई नियाल्नुपर्छ र बुझ्नुपर्ने हुन्छ ।

केही दिनदेखि म त्यही थरिथरीका समाजबारे सोच्दै आइरहेको थिएँ । शब्द फुर्दैनथे । के लेख्नु, नलेख्नु हुन्थ्यो । केही सोच्थेँ, आफैं बरबराउँथे । ती शब्दहरूलार्ई आकार दिन निकै कठिन हुन्थ्यो । अनि लेख्नै छाडिदिन्थेँ । तर, केही नलेख्नुभन्दा लेख्नु राम्रो नि !

हामी विभिन्न सामाजिक परिवेशबाट आएका छौं । कोही पहाडी समुदायबाट, कोही मधेसी, थारू, आदिवासी जनजाति समुदायबाट । सबै समुदायका मानिसको र त्यो समाजको मूल्यमान्यता फरक हुन्छ नै । त्यसै पनि हाम्रो देश जातीय विविधताको देश हो । तर, आफूलाई ठूला भनाउँदा कथित केही जाति वा समुदायले सोच्ने दृष्टिकोण बदलिएको छैन ।

समाजशास्त्रको तर्क मान्ने हो भने, समाज परिवर्तनशील हुन्छ भनिन्छ । तर, सोचाइ नबदलेसम्म समाज कहाँ बदलिन्छ र !
म अब विषयवस्तुमा प्रवेश गर्छु । तपाईं हामीले अहिलेसम्म मधेसमा दाइजो प्रथाको विकराल रूपबारे सुन्यौं । ‘दाइजोकै कारण सासुससुरा मिलेर बुहारीको हत्या’ जस्ता शीर्षकमा समाचार पढेर, सुनेर तर्सियौं ।

मधेसमा त दाइजो नदिँदा बुहारीको ज्यानै लिने रैछन्, बुहारीहरू सुरक्षित छैनन् मधेसमा । त्यसलाई अझै बढाइचढाइ गरेर भन्ने र मधेसको नामैमाथि घृणा गर्ने प्रवृत्ति छ ।
यस्तै टिकाटिप्पणी गर्ने त्यही समाजमा म पनि जन्मिएँ, हुर्किएँ । कुरा बुझ्ने भएपछि मैले पनि साथीसंगी र आफन्तकहाँ मधेसी समुदायबारे यस्तै भनेँ । कुरा काट्थेँ ।

तर, सुन्नु र भोग्नुमा धेरै अन्तर छ । वास्तविकताको दुनियाँ फरक हुने रहेछ। मधेसमा दाइजो एउटा विकृति हो र छ पनि । त्यसो त विकृति कुन समाजमा छैन ? कुन समुदायमा हुँदैन ? विकृति कसलाई भन्ने ? यो पनि एउटा बहसको विषय बन्न सक्छ ।

पुराना सामाजिक मूल्यमान्यतालाई अहिले रूढीवाद (विकृति) भनिँदैछ । उदाहरण हेरौं न, पहिले छाउगोठ ठीक थियो, अहिले बेठीक भएर भत्काइँदैछ । १२ वर्षमा बिहे (बालविवाह) गरिदिने हाम्रो समाज यही हो, अहिले बालविवाहलाई विकृतिका रूपमा बुझिन्छ । बालविवाह तराईमधेसमा पनि छ, हिमाल र पहाडमा पनि छ । फेरि दोहोर्‍याउँछु, विकृति सबै समाजमा छ ।

एउटा कुनै समाजको विकृतिलाई लिएर त्यो समाज वा समुदायका मानिसहरूलाई होच्याउनु गलत हो । घृणा गर्ने व्यक्ति गलत हो । हो, मधेसमा दाइजो प्रथा थियो र छ, त्यो विकृतिको जरोलाई उखेलेर फ्याँक्न नयाँ पुस्ता अघि बढेका छन् । अभियान चलिरहेकै छ । आगामी दिनहरूमा कम हुँदै जालान्, विश्वास गर्दै जाऔं ।

एउटा कुनै समाजको विकृतिलाई लिएर त्यो समाज वा समुदायका मानिसहरूलाई होच्याउनु गलत हो । घृणा गर्ने व्यक्ति गलत हो । हो, मधेसमा दाइजो प्रथा थियो र छ, त्यो विकृतिको जरोलाई उखेलेर फ्याँक्न नयाँ पुस्ता अघि बढेका छन् । अभियान चलिरहेकै छ । आगामी दिनहरूमा कम हुँदै जालान्, विश्वास गर्दै जाऔं ।

अब केही आफ्नै समाजको कुरा गर्छु । कति मधेसको मात्रै कुरा गर्नु । विस्तारै मधेसमा दाइजो त कम होला रे । तर, पहाडी समाजमा रहेको दाइजो कसरी कम हुन्छ ? यो प्रश्नपछि तपाईंको मनमा पहाडमा पनि दाइजो लिने र दिने चलन छ र? भन्ने अर्को प्रश्न उठ्छ होला । तपाईंलाई त दाइजो भन्ने शब्द सुन्नेबित्तिकै मधेसको नक्सामात्र दिमागमा आउँछ किनकि हाम्रो दिमागमा त्यही छापिएको छ ।

पहाडी समाजमा दाइजो कसरी लिइन्छ र दिइन्छ ? सर्वप्रथम त पहाडमा दाइजो होइन, उपहार भन्ने गरिन्छ । यसले सकारात्मक अर्थ र भाव जनाउँछ । दाइजो जसलाई उपहार भनिन्छ, पहाडी समाजमा उपहार माग्ने चलन कस्तो रहेछ त हेरौं । लमी (कारनी) लाई केटा पक्षले भन्छ, इज्जतका साथ छोरी दिन्छ कि दिँदैन, इज्जतसित छोरी दिँदैन भने बिहे गर्दैनौं ।’

इज्जत भनेको के ? इज्जत भनेको बेहुला पक्षले लैजाने जन्तीलाई बेहुली पक्षले खुवाउने र दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन हो । यति त गर्नैपर्ने हुन्छ, नभए इज्जत नै जाने सोच्छन् फेरि । बेहुलालाई सुनको सिक्री र औंठी दिनैपर्‍यो । त्यसपछि बेहुलाको बाबुलाई बेहुली पक्षले सुनको सिक्री र औंठी दिनुपर्ने हुन्छ ।

बेहुलाको काका (ठूलोबा)लाई औंठी, आमालाई तिलहरी, मामालाई औंठी, दिदीबहिनीलाई तिलहरी, भिनाजु,ज्वाइँलाई औंठी, दाजु(भाइलाई औंठी, एकजोडी कपडा र झोला दिनुपर्ने, फुपू(फुपाजूलाई लुगा दिने गरिन्छ । यति औपचारिकता पूरा गरेपछि गहु्रँगोू गरी बुहारी ल्याइयो भनिन्छ । सान नै फरक मानिन्छ समाजमा । यतिमात्र कहाँ हो र, फर्निचरका सरसामान दराज, सोफासेट र डाडुपन्यूदेखि वासिङमेसिन, फ्रिजसम्म दिइन्छ ।

क/कसलाई सुनको सिक्री र औंठी दिइयो, त्यसको र फर्निचरको सरसामानको हिसाबकिताब निकाल्ने हो भने लाखौं रकम हुन जान्छ । बेहुला पक्षको शाखा सन्तानलाई बेहुली पक्षले माथि लेखिएका ती उपहारहरू दिएनन् भने कुरा काट्छन् र भन्छन्, इज्जतसँग दिएनन् ।’

उपहार नदिँदा बुहारीलाई उसको घरपरिवारले जीवनभर नकारात्मक नजरले हेरिरहन्छ । प्रत्यक्ष रूपमा नभने पनि अप्रत्यक्षमा रूपमा भनिरहन्छ । मानौं, एउटै घरमा दुईजना बुहारी छन् । एउटा बुहारीले धेरै उपहार ल्याए, अर्कोले ल्याएनन् वा दिन सकेनन् । त्यो घरमा बुहारीबीच अन्तर गरिन्छ ।
यसरी पहाडी समाजमा उपहारको नाममा दाइजो लेनदेन हुन्छ । पहाड र मधेसको तुलना गर्ने मन छैन । तर, मधेसमा सिधै १० वा १५ लाख नगद मागिन्छ भने पहाडमा उपहार भनेर ।

मधेसमा बेहुलाको बाबुलाई सुनको औंठी वा सिक्री दिइँदैन । आमालाई तिलहरी र दाजु,भाइलाई औंठी दिइँदैन । एकजोडी सर्टपाइन्टको कपडा र धोती दिइन्छ । खर्च जोड्ने हो भने बढी त पहाडी समाजमै भएको देखिन्छ । सामान्य बिहे त अपवाद हो । मधेस र पहाड जुनसुकै ठाउँमा सामान्य बिहे हुन्छ । सामान्य बिहेमा तामझाम हुँदैन ।

अझै कतिपय महिला हिंसाका घटनाहरू घरभित्रै दबाएर राख्ने गरिन्छ । अर्कोतिर त गाउँ समाजका केही ठूला भनाउँदा मानिसले पञ्चायत बसेर दण्डजरिवाना गरेर मुद्दामामिला फत्ते गरिदिन्छन् । महिला हिंसाका घटना भए प्रहरीकोमा न्याय माग्न जानुभन्दा पहिला नै समाजमै मिलाइन्छ ।

रह्यो दाइजो नदिँदा मधेसमा हत्याहिंसाको कुरा । त्यो पनि त मधेसमा मात्र भएको छैन, पहाडमा पनि हिंसा हुन्छ दाइजोको कारण । अर्को कुरा के याद राखौं भने, मधेसमा दाइजो नदिँदा जलाइन्छ, मारिन्छ तर पहाडमा भने जिन्दगीभर पलपल मार्छन् ।

हेटौंडामा पैसाको लागि सासु, ससुराले बुहारीको हत्या गरेको (सुस्मिता काण्ड)ले हाम्रो आँखा खोल्छ । यस्ता अन्य थुप्रै घटनाहरू भइरहन्छन्, बस् नजर दौडाउनुपर्छ ।
अपराधीको कुनै जाति/समुदाय वा धर्म हुँदैन । त्यसैले दाइजोका कारणले हत्या भन्नेबित्तिकै मधेसतिर औंला ठड्याउनु हुँदैन । आफूतिर पनि हेर्न थाल्नुपर्छ ।

अन्त्यमा, गत वर्षको तथ्यांकलाई हेरौं । दाइजोको नाममा होस् वा अन्य केही सवालमा। महिलामाथि सबै ठाउँमा हिंसा भइरहेका छन् । आर्थिक वर्ष २०७५र०७६ मा प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार देशैभर १४ हजार सात सय ७४ घरेलु हिंसा भएका छन् । दुई हजार दुई सय ३० जना किशोरी तथा महिला बलात्कारको शिकार भएका छन् ।

दुई सय ५८ जना महिला तथा बालबालिका बेचबिखनमा परेका छन् भने ८६ वटा बालविवाह भएको छ । सात सय ८६ महिला तथा बालिकामाथि बलात्कार प्रयास भएको गत वर्षको तथ्यांकले देखाउँछ ।

अझै कतिपय महिला हिंसाका घटनाहरू घरभित्रै दबाएर राख्ने गरिन्छ । अर्कोतिर त गाउँ समाजका केही ठूला भनाउँदा मानिसले पञ्चायत बसेर दण्डजरिवाना गरेर मुद्दामामिला फत्ते गरिदिन्छन् । महिला हिंसाका घटना भए प्रहरीकोमा न्याय माग्न जानुभन्दा पहिला नै समाजमै मिलाइन्छ ।

अर्को एउटा तथ्यांक हेरौं, गैरसरकारी संस्था ओरेक नेपालको । गत वर्ष ओरेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउन २०७५ देखि असार २०७६ सम्मको अवधिमा एक हजार ३१९ वटा हिंसाका घटना भएका छन् ।

सबैभन्दा बढी हिंसाका घटना प्रदेश नम्बर १ मा भएको छ । प्रदेश १ मा ४९४, प्रदेश २ मा ३९९ वटा, बागमतीमा ७६, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २१५, प्रदेश ६ मा ३२ र प्रदेश ७ मा १०१ वटा महिला हिंसा भएको ओरेक नेपालले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार महिला सबैभन्दा बढी घरेलु हिंसाको सिकार भएका छन् । महिलाहरूमाथि हुने बढीजसो हिंसा आफ्नै लोग्ने र घरपरिवारका सदस्यबाट हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्