| मङ्लबार, साउन ११, २०८३

कुपोषण घट्नु निकै सुखद समाचार

गोरखाका बालबालिकामा कुपोषण हुने दर पछिल्ला बर्षहरुमा घट्दै गएको छ । तीनबर्षअघि जिल्लामा ८३ जना कुपोषित बालबालिका रहेकामा अहिले जम्मा २९ जनामा मात्र कुपोषणको समस्या रहेको छ । अबको लक्ष्य यो दर पनि घट्नुपर्छ भन्ने हो । तथापि ८३ बाट घटेर २९ मा आइपुग्नु सुखद समाचार हो ।

अहिले २९ जना कुपोषित भएकामा २१ जना कडा खालका कुपोषित र आठ जना मध्यम खालका कुपोषित छन् । कडा खालको कुपोषण भएकाको संख्या धेरै हुनु पनि दुखद छ । विगत तीनवर्ष अघि अर्थात २०८०/०८१ मा कुपोषित बालबालिकाको संख्या ८३ थियो । जसमध्य कडा खालको ५९ जनामा र मध्यम खालको २४ जनामा थियो । २०८१/०८२ मा यो संख्या घटेर ३८ भयो । जसमा कडा खालको ३० जनामा र मध्यम खालको आठ जनामा थियो । अहिले यो संख्या करिब करिब तीन भागको दुई भाग घटेको छ ।

दुखका साथ यो भन्नु पर्छ कि, गण्डकी गाउँपालिका र पालुङ्टार नगरपालिकामा कुपोषितको संख्या अहिले पनि छ ।
गण्डकी गाउँपालिकामा तीनबर्ष अघिभन्दा अहिले दोब्बर बढेर १६ जनामा कुपोषण देखिएको छ । तीनबर्ष अघि जम्मा आठ जनामा कुपोषण देखिएको थियो । पालुङटार नगरपालिकामा १३ जनामा कुपोषण देखिएको छ । नौ जनामा कडा खालको र चार जनामा मध्यम खालको कुपोषण देखिएको छ ।

यो सुखद समाचार हो कि, नौवटा पालिकामा कुपोषित बालबालिकाको संख्या शून्य छ । अहिले कुपोषण शून्य बनाउन स्थानीय सरकार नै लागि परेका छन् । गर्भवती, सुत्केरी, नवजात शिशुको पोषणमा पर्याप्त संवेदनशिलता देखाएर पालिकाले नीति तथा कार्यक्रम बनाएर लगानी गरिरहेका छन् । गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण सुधारका लागि परिवार स्वयं पनि सचेत भइसकेका छन् ।

नेपालीहरुमा देश, विदेश भ्रमण र रेमिट्यान्सका कारण मान्छेहरुमा खाना संस्कृतिको विकास भइरहेकाले पनि पोषण सुधार भएको हो । अहिले सरसफाइप्रति सचेतनाले गर्दा बालबालिका स्वस्थ हुने, जसले कुपोषणको समस्या हट्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्