
सगरमाथा बृक्षारोपण महाअभियानअन्तरगत छेवेटारमा बृक्षारोपण
सरकारको सगरमाथा बृक्षारोपण महाअभियानअन्तरगत छेवेटारमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गोरखा काष्ठ व्यवसायी संघको आयोजनामा मंगलबार गोरखा नगरपालिका १० छेवेटारको मैदानमा बृक्षारोपण सम्पन्न भएको हो ।
संघका अध्यक्ष रुपलाल कुमालको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना, उपप्रमुख मसली माया थोकर, प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ, डिभिजन वन कार्यालय प्रमुख मदन मोहन शाण्डिल्य, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जिसस प्रमुख थापाले वातावरण जोगाउन बृक्षारोपण आवश्यक रहेको बताए । यस्तै, उनले बृक्षारोपणको मानव जिवनमा सकरात्मक भूमिका रहेको भन्दैत्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् ।
प्रजिअ तुलसी श्रेष्ठले वर्तमान अवस्थामा बाढी, पहिरो जस्ता विपदका घटनाहरु बढेको भन्दै भुक्षय हुन नदिन बृक्षारोपण आवश्यक रहेको बताए ।

डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले जलवायु परिवर्तनका कारण नेपाल जस्तो विकासन्मुख देशले दुख पाएको बताए । यस्तै, उनले बृक्षारोपण कार्यक्रममा मात्र नभई गोडमेल कार्यक्रमहरु पनि आयोजना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्ष गोरखा काष्ठ व्यवसायी संघका अध्यक्ष रुपलाल कुमालले भने व्यवसायीको तर्फबाट आगामी दिनहरुमा पनि बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने बताए ।




