| बुधबार, साउन १२, २०८३

५० बर्ष अघिको हाम्रो मुग्लिन बासको कथा

महेश्वर श्रेष्ठ

चिनियाँ सहयोगमा बनेको नौबिसे(पोखरा पृथ्वीराजमार्ग सम्पूर्ण निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण नगरिसकेको भए तापनि २०२९ सालतिर सार्वजनिक यातायात सेवा सुरु भैसकेको थियो । सोही वर्षको फागुन महिनामा म र एक जना साथी उक्त राजमार्ग हुँदै जता मन लाग्यो उतै जाने लफंगा यात्रामा निस्क्यौं ।ट्रक, बस र जीपमा त्रिभुवन राजमार्गमा यात्रा गरिसकेका हामी दुबै जनाको लागि पृथ्विराजमार्गको उक्त यात्रा हाम्रो पहिलो यात्रा थियो ।

त्यस बेला भरखर भरखर बस्ती र बजार बस्न लागेका धार्के, गजुरी आदि हुंदै प्रकृतिको अनुपम सौन्दर्य पान गर्दै हामी चढेको बस सांझ पख चियापान र शौचादीको लागि मुगलिन पुगेर रोक्दा त्यहां होटेल व्यवसाय गर्ने थकाली साहुका तरुनी गोरी गोरी छोरी बुहारीहरुले ए दाई चिया खान जाउं, ए दाई खाजा खान जाउं भन्दै हाम्रो हातै समातेर आफ्नो होटेल तर्फ तानेर लगेकोले हाम्रो कोमल मनले नाईं भन्न सकेन र त्यस रात त्यहीं बास बसेर भोली पल्ट बिहान सखारै त्यहींबाट ठाडो पहाड चढेर मनकामना दर्शन गर्न जाने निधो गर्यौं ।चिया खाईओरी सांझको मधुरो गोधुलीमा एक छिन यता उता घुम्यौं । त्रिशुली नदी माथि बनेको अजंग र अचम्मको झोलुंगे पुल हेर्र्यौं ।

लफंगा यात्रीहरुले क्यामरा घरमै बिर्सेर आएकोले फोटो खिच्न नपाई सारै चुकचुक्यायौं । मुगलिन बजारमा त्यस बेला ५)(६) काठले बनेका बेढंगका अक्सर दुई तले घरहरु थिए जसमा तल भोजनालय र माथि सुत्ने कोठा थिए । धेरैजसो घरमा होटेल एण्ड लजू भनेर सानो सानो साइनबोर्ड टांगेको पनि देखिन्थ्यो । उनीहरुको बुझाईमा होटेल भनेको खाने ठाउं र लज भनेको सुत्ने ठाउं थियो जुन स्वाभाविक थियो । राजधानी काठमाडौंमै खानेठाउंलाई होटेल भन्ने आम चलन अझै पनि छ यद्यपी रेस्टुरां, भोजनालय लेखिएका साइनबोर्डहरु पनि प्रचलनमै थिए ।रात परिसके पछि हामीले चिया पिएकै होटेल एण्ड लजू मा खाना खाने र बास बस्ने निर्णय गर्यौं र भातको अर्डर गर्यौं ।

त्यो दिन बास बस्ने ग्राहकमा मुगलिन बजार भरी हामी दुई जना मात्र रहेछौं । त्यसैले हाम्रो लागि ताजा भात पकाउन पर्ने भयो । दाल भात पाकुन्जेल समय कटाउन र थकाई मार्न भोड्का र सितन मगायौं । सितनमा रांगाको सुकुटी र कुखुराको मासु मात्र थियो । सानो बजार थोरै ग्राहक भएकोले एउटा वा शनिवार मंगलवार पारेर दुइटासम्म खसी काटिंदो रहेछ र त्यो छिट्टै सकिंदो रहेछ । हप्तामा वा दुई हप्तामा एक पटक काटिने रांगाको मासु खैरेनी वा डुम्रेबाट ल्याएर सुकुटी पार्दा रहेछन् ।भात पाके पछि घिउ र मासु भात थपी थपी खायौं । अगेनामा चिया केत्लीमा मन तातो गरी तताइराखेको गाउंको विशुद्ध घिउ भातसंग जति थपेर खांदा पनि हुने रहेछ । मुगलिन बजारु मा बिजुली वितरण भैसकेको थिएन । मट्टितेलको टुकी बत्तीको धिपधिपे उज्यालोमा भात खांदा पनि थकालीको पाक निक्कै स्वादिष्ट थियो ।

अहिले त्यसैको विकसित रुप थकाली भान्छाघर नेपालकै लोकप्रिय र प्रशिद्ध ब्राण्ड नै बनिसकेको छ । भरपेट सादा घिउभात खाएको मूल्य ४र( थियो त्यसमा सुत्नलाई बेड फ्रीमा दिइन्थ्यो । भात मात्र खांदा कति पथ्र्यो कुन्नी थाहा भएन, साहुनीसंग गफमा भुलेर सोद्धा पनि सोधेनौं । चार टुक्रा कुखुराको मासु एक प्लेटको २ रुपैयाँ पथ्र्यो । एक क्वाटर भोड्काको ७ रुपैया पथ्र्यो । रक्सी मुला जहां पनि मासुभात भन्दा महंगो । भोली बिहान भाले बासेसंगै उठेर मनकामना जानु पर्ने भएकोले रक्सीमासु घिउभात खाएर तृप्त भए पछि लागेको पैसा तिरेर दायां बायां समाउने रेलिङ सेलिङ केहि नभएको, एउटा लामो मुढामा २(३ इन्ची खोपेर खुड्किला बनाइएको भर्यांङ चारै हातखुट्टाले म्याम्या गर्दै चढेर पसल माथिको होचो कोप्रे कोठामा दलिनमा टाउको ठोक्काउंदै सुत्न गयौं ।

सिरक र डस्ना धेरै दिनदेखि नधोएकोले होला अघि सुतेर गएकाहरुको पसिना ठसठसी गन्हाउंथ्यो । तर धन्न जुम्रा चाहिं नपरेको, उडुस उपियां पनि नलागेको रहेछ र भोड्काको करामतले गर्दा पनि हो कि ओछ्यानमा पल्टेको केहि बेरमै हामी त मस्तसित निदाएछौं ।

साभार : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्