| बुधबार, साउन १२, २०८३

चेपाङको चिउरी संरक्षणको खाँचो

गोरखाको गण्डकी गाउँपालिका सहित आसपासका रैथाने चेपाङ समुदायका लागि चिउरी केवल एउटा वनस्पति मात्र होइन । यो उनीहरूको जीवन पद्धति, संस्कृति र जीविकोपार्जनको मुख्य आधार हो । बहुउपयोगी भएकै कारण यस समुदायले चिउरीलाई ’दुहुनु भैँसी’ को संज्ञा दिने गर्छन् । विवाहमा छोरीलाई चिउरीको रुख दाइजो दिने रैथाने परम्पराले मानव र प्रकृतिबीचको गहिरो अन्तरसम्बन्धलाई दर्शाउँछ ।

तर, पछिल्लो समय जलवायु परिवर्तनको असर र मानवीय असावधानीका कारण यो महत्त्वपूर्ण प्राकृतिक सम्पदा संकटमा पर्नु चिन्ताको विषय हो । यस वर्ष गोरखाका चेपाङ गाउँमा चिउरीको उत्पादन विगतभन्दा निकै घटेको छ । जलवायु परिवर्तनका कारण समयमै फूल नखेल्ने र फलेका फल पनि पाक्नुअघि नै भुइँमा झर्ने समस्या स्थानीयले भोगेका छन् । अर्कोतर्फ, जथाभाबी घाँस काट्ने प्रवृत्तिले पनि चिउरीका बोटहरू मासिँदै गएका छन् ।

चेपाङ समुदायले वन कार्यालयसँग समन्वय गरेर वृक्षारोपण गर्ने र घाँस काट्न रोक लगाउने जस्ता सकारात्मक प्रयास त थालेका छन्, तर यो मात्र पर्याप्त छैन । चिउरीको फल मात्र होइन, यसको बियाँबाट निकालिने तेल (घ्यू) स्वास्थ्य र आर्थिक रूपमा निकै मूल्यवान् छ । यसको व्यावसायिक प्रशोधन र बजारीकरण गर्न सके सीमान्तकृत चेपाङ समुदायको आर्थिक जीवनस्तरमा ठुलो कायापलट गर्न सकिन्छ ।

त्यसैले, अब स्थानीय सरकार र डिभिजन वन कार्यालय जस्ता सरोकारवाला निकायहरू जिम्मेवार बन्नु पर्छ । स्थानीय तहले चिउरी क्षेत्र घोषणा गरी विशेष नीति ल्याउनु पर्छ । वन कार्यालयले उन्नत बिरुवा वितरण गरी खाली पाखा(पखेरामा वृहत् वृक्षारोपण गराउनु आवश्यक छ । चेपाङ समुदायको रैथाने ज्ञानको कदर गर्दै यो ’दुहुनु भैँसी’ लाई जोगाउनु र यसलाई आर्थिक समृद्धिको माध्यम बनाउनु आजको मुख्य आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्