
चेपाङ समुदायमा चिउरीको सिजन
बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई ‘दुहुनु भैँसी’को संज्ञा दिने गर्छन् । त्यसैले माइतीले चेलीलाई बिबाहमा चिउरीको रुख दाइजो दिने अनौठो परम्परा रहेको हो । अहिले चेपाङ समुदायमा त्यही महत्वपूर्ण चिउरी भित्र्याउने सिजन चलिरहेको छ । ‘हामीले त चिउरी भित्र्याइसक्यौं’, गण्डकी गाउँपालिका ६ लुप्राङका भीमलाल चेपाङ भन्छन्, ‘यो बर्ष पोहोरको जस्तो धेरै भएन ।’ केही आफैले उपयोग गरेको र केही इष्टमित्र, साथीसंगीलाई उपाहारसमेत दिएको उनले बताए ।
धेरै उत्पादन गर्नेले एक क्वीण्टलसम्म पनि भित्र्याएको गण्डकी ६ थुम्काका चन्द्र चेपाङ बताउँछन् । ‘एउटै रुखबाट १०/२० डोकोसम्म भित्र्याउँछन्’, उनले भने, ‘एक डोकोमै ४०/५० केजी पनि हुन्छ । यस्तो त धेरै रुखबाट ४०/५० डोको नै भित्र्याउने गरिन्छ ।’ तर यो बर्ष विगतबर्षमा भन्दा कम फलेको उनको भनाइ छ । ‘जलवायू परिवर्तनको असरले हुनसक्छ, यसपालि पोहोर, परारको जति फलेन । फलेको पनि झरेर गयो’, उनले भने ।
अहिले गोरखाको चेपाङ गाउँमा चिउरी सिजन सकिन लागेको तर मकवानपुर, चितवनका चेपाङ गाउँमा चिउरीको सिजन सुरु भएको उनको भनाइ छ । चिउरी कात्तिक, मंसीरमा फूल खेल्छ । फूलको रस पनि खाने गरिन्छ । फूल खेलेको बेलामा चमेरो चिउरीको बोटभरि धुरिन्छन् । यही मौका छोपेर जाल थापेर चमेरो सिकार पनि गर्ने गर्छन् । ‘चिउरी फुल्ने सिजनमा त गाउँलेको बास नै जंगलमा हुन्छ’, चन्द्र चेपाङ भन्छन्, ‘गोरखातिर त आफूले खान मात्र प्रयोग हुन्छ । चितवन, मकवानपुरका चेपाङहरु त सिकार गरेर बेच्ने पनि गर्छन् ।’ धेरै पौष्टिक हुने हुँदा चमेरो महंगोमा बिक्ने उनले बताए ।
चिउरी पाकेपछि यसलाई खाने चलन छ । चिउरीको फल धेरै पोसिलो खानेकुरा अन्तर्गत पर्ने अर्का स्थानीय बिलबहादुर चेपाङ बताउँछन् । ‘यति मिठो र यति पोसिलो हुन्छ कि, कतिपयले चिउरी खाएपछि खाना खानै पर्दैन’, उनी भन्छन्, ‘यो धेरै राम्रो, मिठो, पोसिलो, तागतिलो हुने भएकाले पहिले पहिले आफ्नो चेलीलाई बारीको चिउरीको चिउरी दाइजो दिएर पठाउने गरिन्थ्यो ।’ चेलीको नाउँ पारेको चिउरी माइती पक्षले उपभोग गर्न हुन्न भन्ने मान्यता छ ।
फल खाइसकेपछि चिउरीको बियाँ पनि धेरै उपयोगी हुने चेपाङ समुदायको भनाइ छ । ‘यसको बियाँलाई सुकाएर पेलेर तेल निकालिन्छ । यो तेल अरु तेलभन्दा धेरै पोसिलो, तागतिलो हुन्छ’, उनले भने, ‘त्यसैले यसलाई हामी तेल नभनेर घ्यू भन्ने चलन छ ।’
निजी बारीमा रहेको चिउरीको रुख सम्बन्धित जग्गाधनीकै हुन्छ । जंगल अथवा खोरियामा भएको चिउरी पनि पुर्खाले नै अनौपचारिक रुपमा बाँडेका हुने चन्द्र चेपाङको भनाइ छ । ‘हाम्रोतिरको पाखा, पखेरा त बाजेकै पालादेखि अनौपचारिक रुपमा भागवण्डा भइसकेको हुन्छ’, उनले भने, ‘चेपाङ समुदायलेचाहिँ चिउरीलाई महत्वका साथ लिएका हुन्छन् । अरु समुदायलाई यसको वास्तै हुँदैन ।’
तर पछिल्ला बर्षहरुमा चिउरी मासिँदै गएका छन् । घाँस काटिदिनाले फल नलाग्ने गरेको बिल चेपाङ बताउँछन् । ‘त्यसैले हामीले वन कार्यालयसंग समन्वय गरेर चिउरीको विरुवा मगाएर वृक्षारोपण गरेका छौँ’, उनले भने, ‘अनि यसको घाँसको नकाट्ने नियम बनाएका छौँ ।’ सबै गाउँ टोलका चेपाङ समुदाय चिउरी संरक्षणमा लागेका उनको भनाइ छ ।




