| सोमवार, कार्तिक २३, २०८३

स्कुललाई भवन र सामाग्री हस्तान्तरण

पछिल्लो समय डा. गोविन्द केसीको अनसनलाई लिएर कांग्रेस सांसद गगन थापा र नेकपा सांसद योगेश भट्टराई विपरित ध्रुवमा छन्।
थापा सरकारले केसीसँग गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकलाई संसदीय समितिले पारित गरेकोमा आक्रोशित छन्।

भट्टराई भने विधेयकले केसीका सबै माग पूरा गरेको भन्दै यसको बचाउमा छन्। सत्ता पक्षबाट भट्टराई र प्रतिपक्षीबाट थापाले एकअर्काको विचारको आक्रामक खण्डन गरिरहेका छन्।

तर, सामाजिक काममा भने उनीहरु यो मतभेदलाई थाँती राखेर सक्रिय छन्। शुक्रबार गोरखाको फुजेलमा आयोजित भैवराश्रम मावीको वार्षिकोत्सवमा दुवै सांसद सहभागी भए। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्तको अगुवाइमा यो विद्यालयका भौतिक पूर्वाधार निर्माण भएका हुन् ।

तीमध्ये केही संरचनाको सांसदद्वयले शुक्रबार उद्घाटन गरेका हुन्। पन्तको विशेष पहलमा निर्माण गरिएका भवन, फर्निचर, इ–लाइब्रेरी र मञ्च शुक्रबार नै विद्यालयलाई हस्तान्तरण गरिएको थियो।

विद्यालयको पूर्वाधार निर्माणमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र संरक्षक रामप्रताप थापालगायतको सहयोगमातीन करोड रुपैयाँ बराबरको निर्माण गरिएको हो ।

कार्यक्रममा दुवै सांसदले शैक्षिक विकासले मात्रै मुलुकको सम्वृद्धि हुने बताएका थिए। कार्यक्रममा महतो, लामिछाने र पन्तले गुणस्तरीय शिक्षाको आवश्यकतामा जोड दिएका थिए।
साभार ः कान्तिपुर दैनिक ।

प्रतिक्रिया दिनुहोस्