
नेकपाद्वारा गोरखामा राष्ट्रिय जागरण अभियान सुरु, ११ वटै पालिकाका टोल–टोलमा पुग्ने
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)गोरखाले आइतबारबाट जिल्लामा राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । कार्तिक ७ देखि मंसिर २५ गतेसम्म चल्ने अभियानको जिल्लामा आइतबारदेखि ११ वटै स्थानीय तहबाट सुरुवात गरिएको पार्टीले जनाएको छ ।
पार्टीको जिल्ला समितिले आइतबार पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिएको हो ।
राष्ट्रिय जागरण अभियान केन्द्रीय कार्यालयबाट कार्तिक ७ गते उद्घाटन भइसकेको छ । ठूला चाडबाड र मौसम प्रतिकुलताका कारण केहि ढिला भए पनि जिल्लामा कार्तिक ११ गते बसेको पूर्ण बैठकले मंसीर १५ गते आइतबारबाट अभियानको थालनी गरिएको पार्टीका संयोजक अकुर तिमल्सिना(आयाम)ले बताए ।
अभियानलाई व्यवस्थित गर्न जिल्लालाई चारवटा प्रदेश निर्वाचन क्षेत्र अनुसार चार कमाण्ड बनाइएको छ । क्षेत्र नं १ को (क) को अभियानको नेतृत्व लेखबहादुर थापा मगर र (ख) को जगन्नाथ खनालले गर्ने भएका छन् । यस्तै क्षेत्र नं २ अन्तर्गतको (क) मा कमला नहर्की र (ख) मा भगवती तिवारीले नेतृत्व गर्ने संयोजक तिमल्सिनाले जानकारी दिए ।
त्यसैगरी पालिका स्तरमा गोरखा नगरपालिकामा यादव बस्नेत, पालुङटारमा जुद्धविलास भण्डारी, गण्डकीमा दिपक तिमल्सिना, शहीद लखनमा कृष्ण चेपाङ, भिमसेनथापामा लोकप्रसाद बञ्जरा, आरुघाटमा राजन गुरुङ, धार्चेमा छमबहादुर गुरुङ, चुमनुब्रीमा निमा लामा, बारपाक सुलिकोटमा विष्णु भट्ट, अजिरकोटमा दिपक देवकोटा र सिरानचोकमा नवराज पुडासैनीले अभियानको नेतृत्व गर्ने भएका छन् ।
अभियान वडा केन्द्रीत रहने र टोल–टोलमा पुगेर जनसमुदायसँग भेटघाट, अन्तरक्रिया गरी राजनीतिक परिस्थितिको बारेमा जानकारी तथा सुझाव लिने नेकपा जिल्ला इन्चार्ज अमर तमुले बताए । जनताको घर दैलोमा पुगेर पिढीसभा, टोलसभा गरी पार्टीका नीति विचार र योजना पु¥याउनुका साथै पार्टी सदस्यता नविकरण र विस्तार गरी संगठन सुदृढीकरण गर्ने उनले जानकारी दिए ।
अभियान अवधिमा वडा वडामा जनवर्गीय संगठनको इकाइ निर्माण गरिने बताइएको छ । इन्चार्ज तमुका अनुसार देशमा चलिरहेको कुशासन, कालाबजारी, महंगी लगायत जनजीविकाका विषयमा केन्द्रित रही संघीय, प्रदेश र स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।प्राकृतिक विपत्ती भोटेकोशी बाढी, बुढीगण्डकी बाढीबाट प्रभावित गण्डकी, शहीद लखन, चुमनुब्री, धार्चे र आरुघाटका जनसमुदायको दुखमा पार्टी एकाकार भई उद्धार, राहत र पुनर्निर्माणमा पहल गरिने बताएको छ ।
राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक गणतन्त्र, सुशासन र सामाजिक न्यायका पक्षमा जिल्लामा क्रियाशील देशभक्त, लोकतान्त्रिक तथा वामपन्थी दल र नागरिक समाजसँग पनि अन्तरसंवाद गरिने पार्टीले जनाएको छ । अभियानमा जिल्लामा कार्यरत केन्द्रीय, प्रदेश र जिल्ला सदस्यहरु, सल्लाहकार र सबै समितिका सदस्यहरु सहभागी हुने भएको छ ।




