
एक किलो नुनको २०० !
प्रतिक्षा आले
सुन्दा अचम्म लाग्न सक्छ एक किलो नुनको २०० रुपैँया भन्दा । नेपालीको भान्सामा पाइने सबैभन्दा सस्तो र नभैनहुने पदार्थ हो नुन । बजारमा ३० देखि ३५ रुपैँयासम्ममा सहजै उपलब्ध हुने नुनलाई गोरखाको भोटखोलाका गाउँबस्तीका बासिन्दाले भने २०० रुपैँयासम्म तिरेर दैनिक गुजारा चलाउँछन् ।
नेपालमा खानेनुनको आपूर्तिकर्ता साल्ट टेड्रिङ कर्पोरेसनले प्रतिकिलो नूनको बजारभाउ ९ देखि २६ रुपैँयासम्म तोकेको छ । कर्पोरेसनले आयो नुनको बजारभाउ प्रतिकेजी २६ रुपैँया, न्यू शक्ति नुनको २० रुपैँया र भानु नुनको ९ रुपैँया मूल्य तोकेको छ ।
हिमाल पारिको चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीहरुमा भने खाने नुनको मूल्य फरक फरक छन् । चुमनुब्रीबासीले एक प्याकेट आयो नुनलाई ६० देखि २०० रुपैँयासम्म तिर्नुपर्छ । जति विकट गाउँ, त्यति नै महङ्गो नुनको भाउ । नुन मात्र होइन, विकट गाउँबासीले अन्य दैनिक उपभोग्य सामाग्रीहरु खरिद गर्दा पनि चर्को मूल्य तिर्नुपर्छ ।
कारण हो ढुवानी भाडा । सडक सञ्जालले नछोएको र अझै सडक जोडिने सुरसार नभएको चुमुनब्री गाउँपालिकाका बासिन्दा खाद्यन्न सामाग्रीको मूल्यभन्दा दोब्बर ढुवानी तिर्न बाध्य छन् । मनास्लु क्षेत्रभित्अर पर्ने तिव्वती सीमा नजिक रहेको सामागाउँ, साम्दोमा तल्लो क्षेत्रमा ३० रुपैँयामै पाइने आयो नुनलाई दुईसय रुपैँया पर्छ । ३० रुपैँयाको एक प्याकेट नुन साम्दोसम्म पु¥याउन ढुवानीलाई मात्र एकसय रुपैया लाग्ने स्थानीय निमा दोर्जे बताउँछन् ।
‘एक पोका नुन पाङसिङबाट साम्दोसम्म ल्याउँदा सय रुपैँया त ढुवानी भाडामात्र पर्छ । आरुघाट, आर्खेतबाट पाङसिङसम्मको ढुवानी भाडा छुट्टै छ । त्यसपछि यहाँ पसलेहरुले ५, १० रुपैँया नाफा खाँदा त एक पोका नुनलाई २०० पर्ने भयो नै’, निमाले भने ।
सामागाउँभन्दा केही तल वडा नं २ ल्हो गाउँमा भने खाद्यन्न ढुवानी रकम केही कम छ प्रतिकेजी ८० रुपैँया । त्यसैले यहाँ एक प्याकेट आयो नुनलाई डेढसय रुपैँया पर्छ । गाउँपालिकाको वडा नं ५ बिही गाउँमा भने एकसय रुपैँयामा नुन पाइने स्थानीय काल्देन छेवाङले बताए ।
‘पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामाग्री ढुवानी गर्दा हिउँदोमा प्रतिकेजी २५ रुपैँया पर्छ । त्यतिबेला नुनलाई सय रुपैँया पर्छ’, उनले भने, ‘बर्खा लागेपछि ढुवानी पनि बढ्छ, केजीको ७० रुपैँयासम्म । सामानको मूल्य पनि त्यही अनुसार बढेर जान्छ ।’
चुमनुब्रीको वडा नं ४ प्रोकमा पनि एक किलो नुनलाई ढुवानी भाडाअनुसार एकसयदेखि १७० रुपैँयासम्म पर्न जाने स्थानीयहरुले बताएका छन् ।
चुम उपत्यकातर्फ जिल्लाकै अन्तिम गाउँ छुले, निलेका बासिन्दाले पनि आयो नुन प्रतिकेजी १८० देखि २०० रुपैँयासम्म तिर्दै आएका छन् । पाङसिङबाट डेढदेखि दुईदिनमा पुगिने चुमनुब्री–७ छेकम्पारको छुले, निलेमा खच्चडबाट सामाग्री ढुवानी गर्दा प्रतिकेजी ६० रुपैँया पर्छ । त्यहाँबाट केही वर लामागाउँमा ५५ रुपैँया र छेकम गाउँमा प्रतिकेजी ५० रुपैँया खच्चड भाडा लाग्ने लामागाउँका पासाङ फुन्ञ्जो लामाले जानकारी दिए । लामाका अनुसार छेकम्पारको गाउँबस्तीमा एक प्याकेट आयो नुनलाई डेढसय रुपैँया पर्छ ।
वडा नं ६ चुम्लिङमा भने आयो नुनलाई सय रुपैँया पर्ने स्थानीय गोपाल लामा बताउँछन् । उनका अनुसार पाङसिङबाट चुम्लिङसम्म प्रतिकेजी ३० रुपैँयामा खाद्यन्न सामाग्रीहरु ढुवानी हुन्छन् । सरकारले विकट हिमाली क्षेत्रका लागि नूनमा ढुवानी अनुदान कार्यक्रम लागु गरेको छ । सरकारको ढुवानी अनुदान कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा साल्ट ट्रेडिङ कर्पोरेशनले पाएको छ । कर्पोरशनले उत्तरी गोरखाको सिर्दिवासका लागि यो आर्थिक वर्ष ३५० क्वीन्टल आयो नुन पठाएको कर्पोरेशनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनले जानकारी दिए ।
‘उत्तरी गोरखाको लागि त्यहीँको माग अनुसार कर्पोरेशनबाट आयो नुन नै जान्छ । हामीले यहाँबाट प्रतिकेजी २८ रुपैँयामा नुन पठाएका हुन्छौँ’, उनले भने, ‘पोखराबाट सिर्दिबाससम्म नुनको ढुवानी ठेकेदारले गर्छन् । ढुवानी गरेबापतको रकम उनीहरुलाई सरकारले उपलब्ध गराउँछ ।’
सरकारले अनुदानको पठाएको आयो नुन उत्तरी गोरखाको सुदूर गाउँ, बस्सतीसम्म भने पुग्दैन । सहुलियतको नुन सिर्दिबास क्षेत्रमा नै खपत हुने पालिकाको वडा नं ७ छेकम्पारका पासाङ फुन्जो लामा बताउँछन् । ‘सरकारले जगतसम्म नुन पु¥याउन अनुदान दिन्छ । त्यहाँबाट सामागाउँ, साम्दो चारदिनको बाटो हो । छेकम्पार तीनदिनको’, उनले भने, ‘जसरी पनि हामीले चर्को खच्चड ढुवानी भाडा तिर्नैपर्छ । नतिरे फेरी के खाने ?’
नेपाली सेनाले चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडक ट्रयाक खोलेको छ । मोटर भने पाङसिङसम्म मात्र पुगेको छ । बेनिघाट–आरुघाट–लार्के सडकअन्तरगत हावाडाँडादेखि चिनको सीमा लार्के भञ्ज्याङसम्म सडक ट्रयाक खन्ने जिम्मा सेनाले लिएको थियो । समय समयमा बजेट अभाव र स्रोत सुनिश्चितता चुनौतीका कारण आयोजनाको कामले गति लिन सकेको छैन । जसका कारण चुमनुब्री गाउँपालिकाको वडा नं ३ सिर्दिबास बाहेकका अन्य ६ वडाहरु अझैपनि सडक सञ्जालदेखि धेरै टाढा छन् ।
सडक पुगेको चुमनुब्रीको केन्द्र फिलिम र आसपासका क्षेत्रहरुमा पनि ३० रुपैँयाको आयो नुनलाई ६० रुपैँया पर्ने स्थानिय कुमारी गुरुङ बताउँछिन् । आर्खेतदेखि फिलिमसम्म खाद्यन्न सामाग्री आइपुग्दा त्यसको भाउ पनि बढ्ने उनको भनाई छ ।
मोटर पुगेको गाउँपालिकाको वडा नं ३ पाङसिङदेखि माथिका गाउँबस्तीमा खाद्यन्न ढुवानीको एउटै साधन खच्चड हो ।
खच्चडमार्फत मनास्लु क्षेत्रको अन्तिम गाउँ चुमनुब्री–१ सामागाउँ सम्दोसम्म खाद्यन्न पु¥याउँदा ढुवानी भाडा प्रतिकेजी एकसय रुपैँया लाग्छ । तीनदिनको बाटो हिँडेर गाउँसम्म खाद्यन्न आइपुग्दा ढुवानी भाडा प्रतिकेजी एकसय रुपैँया पर्ने सामागाउँका व्यवसायी बिरबहादुर लामाले जानकारी दिए ।




