| आइतवार, कार्तिक २२, २०८३

गोरखाको सिरानचोकमा टिप्पर पल्टिँदा चालकसहित ३ जना घाइते

गोरखाको सिरानचोक गाउँपालिका–८ चिलाउने खस खोलामा टिप्पर दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन् ।शनिबार बिहान १०:१० बजे भच्चेकबाट चितवनतर्फ जाँदै गरेको भच्चेक खानेपानी आयोजनाको जेनेरेटर बोकेको ना ७ ख ८६५८ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।

चालकको स्वास्थ्यमा अचानक समस्या आएपछि टिप्पर अनियन्त्रित भई सडकमा पल्टिन गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते हुनेहरूमा चालक चितवन माडी नगरपालिका–४ शितलपुर बस्ने वर्ष २५ का राजु सुनार रहेका छन् । उनलाई बाहिर चोट नदेखिए पनि भित्री चोट लागेको छ । बोल्न सक्ने अवस्थामा रहेका उनको अवस्था मध्यम रहेको छ ।

त्यसैगरी धादिङ साङगुस गाउँपालिका–४ बस्ने वर्ष २४ का राज बहादुर तामाङको बायाँ खुट्टामा चोट लागेको छ भने अजिरकोट गाउँपालिका–२ अपुन बस्ने वर्ष ४० का तिर्थ बहादुर गुरुङको घाँटीमा दुखेको छ । दुवै जना बोल्न सक्ने अवस्थामा रहेका छन् ।

घाइतेहरूको भच्चेक आधारभूत अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्