| बिहिबार, कार्तिक १९, २०८३

सरकारले आवश्यकता ठानेर आइजिपी हेरफेर गरेको हो : मुख्य सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा संसदीय दलका प्रमुख सेचतक कवीन्द्र बुर्लाकोटीले सरकारले आवश्यकता ठानेर प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको बताएका छन् । बुधबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै नेता बुर्लाकोटीले यसमा पार्टीको कुनै सुझाव वा राय नरहेको प्रतिक्रिया दिए ।

‘पछिल्लो केही दिनयता विकसित विभिन्न घटनाक्रमको बिश्लेषण गरी सरकारले आवश्यकताका आधारमा उक्त निर्णय लिएको हो’, उनले भने, ‘सरकारको यो निर्णय पार्टीको भन्दा पनि सरकारको हो । सञ्चारगृहमा समाचार कक्षमा प्रहरी प्रवेश गरेको विषय पनि थियो । विचौलियाहरुसंगको संलग्नताको विषय पनि हुनसक्छ । यी सबैलाई विश्लेषण गरी आज जिम्मेवारी हेरफेर गरिएको हो ।’ निर्णय लिनका लागि सरकारसंग समय अभावका कारण पार्टीसित छलफल नगरिएको हुनसक्ने उनको तर्क छ ।

बुधबार दिनभर आफू गोरखा जनगुनासो सुन्ने कार्यक्रममा व्यस्त भएकाले पार्टीको कुनै पनि तहमा संवाद गर्न नपाएको उनले स्पष्ट पारे । आइजिपी फेरबदलमा पार्टीको भूमिका प्रधान कि, सरकारको ? भन्ने प्रश्न उब्जिरहेका बेला उनले सरकारकै मुख्य भूमिका रहेको उल्लेख गरे । उनले सरकारले सबै काममा पार्टीसँग सरसल्लाह नगर्न पनि सक्ने जिकिर गरे ।

सरकारले वुधवार दानबहादुर कार्कीलाई हटाएर नयाँ आइजीपीमा डा. मनोज केसीलाई नियुक्त गरेको थियो । अर्को फरक प्रसंगमा सांसद बुर्लाकोटीले जिल्ला सभापतिलाई सचेत गराउने, काममा सक्रिय गराउने पार्टीको आन्तरिक मामला भएको दाबी गरे । ‘हामी भर्खरै राजनीतिक अभ्यास गर्न सुरु गरेका पार्टी हौँ । हामीलाई जतिसक्दो छिटो धेरै कार्य प्रगति गर्नुपर्ने छ’, उनले भने, ‘यस्तो अवस्थामा निस्कृय रहेका नेतृत्वलाई सक्रिय गराउने क्रममा आन्तरिक विवाद हुनु अस्वभाविक होइन । यस्तो भइ नै रहन्छ ।’ यस्ता विषयलाई ठूलो विवादको विषय बनाउन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्