| बिहिबार, असार १०, २०८३

मोदीको बारम्बारको नेपाल भ्रमणले पर्यटन विकास हुने विश्लेषण


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारम्बारको नेपाल भ्रमणले नेपालमा पर्यटन विकासको वातावरण बन्ने विज्ञहरुले विश्लेषण गरेका छन् । उदाउँदो शक्तिराष्ट्रका कार्यकारी प्रमुखको नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्दा विश्वका अन्य मुलुकका पर्यटकको पनि ध्यानकर्षण हुने उनीहरुको टिप्पणी छ ।


नेपाली कांग्रेसका नेता एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्ने तर्क गरेका छन् ।


“मोदीको लुम्बिनी भ्रमण गर्ने चाहना पहिलेदेखिकै थियो । तर हामीले संयोजन गर्न सकेका थिएनौं । यस पटक नेपाल सरकारको तयारी राम्रै छ’, कूटनीतिज्ञ उपाध्यायले भने, ‘यसले पर्यटन विकासमा नयाँ आयाम थपिन्छ । मोदी मुक्तिनाथ गएपछि त्यहाँ भारतीय पर्यटक उल्लेख्य रुपमा बढेको उदाहरण हामी सामु छ । यसको आधारमा भन्न सकिन्छ कि अब लुम्बिनीमा पनि भारतीय पर्यटक त अवश्य बढ्छन् । अरु मुलुकका पर्यटक पनि बढ्नेछन् ।” यसअघि उनी पशुपतिनाथ मन्दिरको भ्रमण पनि गरेका थिए । त्यसयता पशुपतिमा तुलनात्मक रुपमा भारतीय पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको उनले बताए ।


उपाध्यायले भर्खर निर्माण भएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा मोदी सोझै उत्रिन सक्दा यसको सकारात्मक सन्देश प्रवाह हुनेछ । यसले भारतभर अझ राम्रो सन्देश जाने उनले औंल्याए । उनले भने, “राजनीतिमा कूटनीतिक पहल महत्त्वपूर्ण हुन्छ । भैरहवा विमानस्थलमा सोझै आउँदा राम्रो हुन्थ्यो । तर उहाँ जेट विमानमा कुशीनगर आएर त्यहाँबाट हेलिकप्टरमा आउने कुरा छ । त्यसमा हाम्रो पहल पुगेन ।”


उपाध्यायले मोदीको लुम्बिनी भ्रमण महत्त्वपूर्ण रहेको पनि औंल्याए । उनले भने, “विश्व शान्तिका लागि लुम्बिनीको नामै काफी छ । हिन्दूको चार धाम, क्रिस्चियनको जेरुसेलम, मुस्लिमको मक्का मदिना भनेजस्तै लुम्बिनी बौद्धमार्गी र शान्तिकामीका लागि बुद्धको पवित्र जन्मस्थल हो । मोदीको भ्रमणले धार्मिक पर्यटनमा बढावा दिनेछ ।”

प्रतिक्रिया दिनुहोस्