
मनास्लु क्षेत्रमा अवदेखि क्यूआरमार्फत पर्यटकको इन्ट्री
प्रतीक्षा आले ।
मनास्लु क्षेत्रमा पर्यटकहरुको इन्ट्री प्रणाली अद्यावधिक गर्न क्यूआर कोडको प्रयोग गर्न थालिएको छ । पर्यटकहरु भित्रिने र बाहिरिने तथ्यांक क्यूआरमार्फत अद्यावधिक गर्न थालिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का सूचना अधिकारी भुवनराज ओझाले बताए ।
उनका अनुसार एमक्यापले पर्यटकहरुलाई मनास्लु क्षेत्र प्रवेशको अनुमति पत्र लिँदै गर्दा नै क्यूआर कोड उपलब्ध गराउँछ । सोही क्यूआरको सहायताले हरेक पर्यटकहरु भित्रिएको र बाहिरिएको विवरण राष्ट्रिय प्रकृति संरक्षण कोषको मोबाइल एपमा अद्यावधिक हुने उनले जानकारी दिए । यसअघि एमक्यापमा हरेक पर्यटकको इन्ट्री हातैले गरिने गरेको उनको भनाइ छ ।
‘यसअघि हरेक पर्यटकको विवरण म्यानुअल्ली अद्यावधिक गरिन्थ्यो’, उनले भने, ‘हरेक पर्यटकको नाम, राहदानी नंबर, भिसा लगायत विवरण हातैले लेखिराख्दा एकजनाको इन्ट्री गर्न ४–५ मिनेट लाग्थ्यो । जसले गर्दा मुख्य सिजनको समयमा एउटै पर्यटक डेढ, दुईघण्टा चेकपोष्टमा कुर्नुपर्ने अवस्था थियो ।’ यसअघि इन्टरनेटको समस्याका कारण क्यूआर प्रविधिको प्रयोग नगरेको एमक्यापले सोमबारदेखि भने उक्त प्रविधि लागु गरेको सूचना अधिकारी भुवनराज ओझाले बताएका छन् ।
हाल मनास्लुको सामागाउँ, साम्दो र छेकम्पार क्षेत्रमा ‘फोर–जी’ सेवा बिस्तार भएसँगै एमक्यापले क्यूआरमार्फत पर्यटक इन्ट्री गर्ने प्रणाली विकास गरेको हो । यसो गर्दा पर्यटकहरु चेकपोस्मा घण्टौँ कुर्नुपर्ने अवस्था हटेर जाने एमक्यापले जनाएको छ । ‘इन्टरनेट नचलेको खण्डमा पनि क्यूआर स्क्यान गर्न मिल्छ । त्यसपछि इन्टरनेट चलेको बेला पर्यटकको विवरण अद्यावधिक भएर बस्छ’, एमक्यापका भुवनराज ओझाले भने ।
मुख्य सिजन असोज कात्तिकमा मनास्लु क्षेत्रमा हजारौँको सङ्ख्यामा पर्यटकहरु भित्रने गर्छन् । हाल दैनिक करिब तीनसय पर्यटकहरु मनास्लु क्षेत्र भित्रने गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाको भनाई छ ।




