
साइकल चढेर नेपाल भ्रमणमा
शान्ति र सद्भावको नारा बोकेर साइकल टुरमा निस्किएका सुनसरीका ओम प्रकाश बानियाँ गोरखा आइपुगेका छन् । बैशाख १९ गते बाट यात्रा सुरु गरेका बानियाँ २५ औँ जिल्लाको रुपमा चितवन हुँदै मंगलबार गोरखा आइपुगेका हुन् । शान्ति समृद्धि र स्थायीत्व भन्ने नाराका साथ नेपाल टुरमा निस्किएको बानियाँले बताए ।
‘विश्व साइकल यात्री पुश्कर शाहको प्रेरणाले म यसरी निस्किएको हुँ’ उनले भने ‘मेरो यो नेपाल टुर छ महिनाम सक्ने लक्ष्य छ । त्यसपछि विश्व साइकल यात्रामा निस्किनेछु । नेपालको र मेरो नाम सबैठाउँमा चिनाउने मेरो अभियान हो । उनलाई यस अभियानमा सुनसरीको बराह क्षेत्र नगरपालिकाले साइकल किनेर सहयोग गरेको छ । त्यस्तै विभिन्न जिल्लामा गएर बस्न खानको लागि साथीभाइहरुले सहयोग गरेको उनी बताउँछन् । गोरखा पछि उनी बुधबार लम्जुङ जानेछन् । बैदेशिक रोजगारीको शिलसिलामा ६ वर्ष कतारमा बसेर आएका बानियाँ साइकल यात्रा मार्फत नेपालमा शान्ति समृद्धि र स्थायीत्वको चेतना फैलाउन चाहन्छन् ।




