| आइतवार, अशोज १७, २०८३

एकसाता पछि खुल्यो लार्केपास, पर्यटकको चहलपहल बढ्दो

भारी हिमपातका कारण झन्डै एकसाता अवरुद्ध बनेको लार्केपास पदयात्रा खुल्ला भएको छ । गत असोज ९ गतेबाट पूर्ण रुपमा अवरुद्ध बनेको लार्केपास बिहीबारदेखि खुल्ला भएको स्थानीय चुमनुब्री गाउँपालिका १ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताए ।

असोज ९ गतेबाट परेको भारी हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको लार्के पास पूर्ण रुपमा अवरुद्ध बनेको थियो । ५,१०६ मिटर उचाइमा रहेको लार्केपास बन्द हुँदा सामागाउँ, साम्दोका स्थानीयको जनजीवन प्रभावित बनेको लामाले जानकारी दिए ।

बिहीबार २६ जना पर्यटकहरु लार्केपास गरेर मनाङको भीमथाङ पुगेको मनास्लु संरक्षण क्षेत्र विकास आयोजनाले जानकारी दिएको छ । शुक्रबार भने २१ जनाको टोलीले लार्केपास गरेरको आयोजनाको भनाइ छ । पर्यटकहरुको लागि लार्केपास खुल्ला भएपनि त्यहाँ खच्चड हिँडाउने अवस्था नरहेको स्थानीय निमा लामाको भनाइ छ । ‘पर्यटकहरु हिम्मत गरेर हिँडिरहेका छन्, खच्चड हिँड्ने बाटो त अझैँ खुलेकै छैन’, उनले भने, ‘खच्चड हिडाउनको लागि बाटो बनाउनै पर्ने हुन्छ ।’

सामागाउँ, साम्दोमा बर्खाको समयमा बाढी, पहिरोका कारण तल्लो भेगको बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकेपछि मनाङको भिमथाङ बजारबाट लार्केपास हुँदै ल्याउने गरिन्छ । तर हाल बाक्लो हिउँ जमेर खच्चड हिँड्ने बाटो मेटिएकाले लार्केपासबाट पनि मनाङ आवतजावत गर्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्