
गोरखाका पर्यटकीय स्थल अब कापीको कभरपेजमा
वीरगञ्जमा रहेको सारथी पेपर प्रोडक्टले गोरखाका पर्यटकीय स्थलको फोटो कापीको कभरपेजमा अंकित गरेको छ । भ्रमण बर्ष २०२० मा गोरखाको पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले गोरखाका आकर्षक स्थलहरुको फोटोलाई कापीको कभरफोटो बनाइएको सो कापी उद्योगका सञ्चालक प्रदीप खनालले जानकारी दिए ।

‘बिभिन्न मूल्यका कापीमा ९६ वटा पर्यटकीय स्थलको फोटो अंकित गरिसकिएको छ’, उनले भने, ‘यो बर्षभरि अझै नयाँनयाँ स्थलको फोटो थप गर्दै लैजाने लक्ष्य छ ।’ छ छ महिनामा कभर फोटो परिवर्तन गर्दै जाने योजना उनले सुनाए ।

बिभिन्न नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुसंग समन्वय गरी उत्कृष्ठ पर्यटकीय स्थलको फोटो छनौट गरिएको पनि खनालले बताए । विद्यार्थी उमेरमै बिभिन्न पर्यटकीय स्थल चिनेमा ठूलो भएपछि उनीहरुले ती स्थलको प्रचार प्रसार गर्ने र पर्यटन विकास हुने भएकाले यो अवधारणा ल्याएको खनालले बताए ।




