
होटल लगायतका क्षेत्रमा लगानी बढोस्
मनास्लु क्षेत्र देशकै उत्कृष्ठ गन्तव्य बन्दै गएको छ । यहाँ आउने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । आउँदो अंग्रेजी बर्ष सन् २०२० लाई सरकारले नेपाल भ्रमण बर्षको रुपमा मनाउने निर्णय गरेको छ । आउँदो बर्ष झन पर्यटक बढ्ने निश्चित भैहाल्यो ।
पर्यटक बढ्दै गएपछि मनास्लु क्षेत्रमा होटल, रिसोर्ट खुल्ने क्रम पनि बढिरहेको छ । नाम्रुङमा हालै १८ करोड रुपैंयाको लागतमा रिसोर्ट निर्माण भएको छ । यसले गर्दा मनास्लु क्षेत्रमा गुणस्तरीय होटल, रिसोर्टको सुविधा पनि छ भन्ने पर्यटनको विश्व बजारमा सन्देश जान्छ । जसले गर्दा पर्यटक आकर्षण गर्न सहायक सिद्ध हुनेछ ।
गुणस्तरीय होटल, रिसोर्ट खुल्नु भनेको साहुजीले पैसा कमाउनु मात्र होइन, त्यसले गर्दा कुन कुन पक्षमा फाइदा पुग्दैछ भन्ने पनि विश्लेषण गर्नुपर्छ । त्यसैले लगानीकर्तालाई बक्रदृष्टिले नभै मैत्री नजरले हेर्नुपर्छ । मुलुकमा लगानीकर्ता भित्र्याउनु पर्छ । लगानीकर्तालाई आफ्नो लगानीको सुरक्षाको प्रत्याभूति गराउनु पर्छ । लगानी बढे रोजगारीको अबसर बढ्छ । राजस्व बढ्छ । मुलुकभित्र पुँजी परिचालन हुन्छ, इत्यादि ।
होटलमा मात्र होइन, अन्य क्षेत्रमा पनि लगानी बढाउनु पर्छ । सरकारले, समुदाय वा व्यक्तिले पनि पार्क, संग्रहालय निर्माण गर्न सक्छन् । पर्यटकसंग शुल्क लिएर त्यस्ता सम्पदा सञ्चालन गर्नुपर्छ ।




