
राष्ट्रिय वृक्षरोपण दिवस मनाइयो
दरौंदी : राष्ट्रिय वृक्षारोपण दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा विभिन्न ठाउँमा वृक्षारोपण गरिएको छ ।
जसअनुसार गोरखा नगरपालिका वडा नम्वर १० छेवेटारमा विभिन्न प्रजातीका एक सय भन्दा बढी विरुवा रोपिएको छ । सो क्षेत्रमा म्याँगो स्टिक, कपूर, अशोका लगायतका विरुवा रोपिएको हो । सरकारले यही वर्षबाट असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवसका रुपमा बनाउने निर्णय गरेअनुसार महादेवटार क्षेत्रमा कार्यक्रम गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
स्थानीय लट्टेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष दयाराम धितालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, डिभिजन वन कार्यालयका प्रमुख तोयानाथ पौडेल, रणसिं दल गणका प्रमुख चन्दनसिं थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
बृक्षारोपण दिवसकै अवसरमा गोरखा नगरपालिका ९ को विरेञ्चोक सामुदायिक वनले पनि वन क्षेत्रमा विभिन्न विरुवा रोपेको छ ।
रुद्राक्ष, श्रीखण्ड लगायतका विरुवा रोपिएको वन समूहका भूरमण घिमिरेले बताए । सो वन समूहमा पर्यापर्यटन विकास गराउने लक्ष्य रहेको छ । वन तथा भूसंरक्षण विभागको आर्थिक सहयोगमा विरुवा रोपिएको घिमिरेले जानकारी दिए ।
यस्तै शसस्त्र प्रहरी वल गुल्म, रणसिं दल गण सहित स्थानीय तहहरुले पनि बृक्षारोपण कार्यक्रम गरेका छन् ।
यसैबिच, नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि बृक्षारोपण दिवसका अवसरमा कार्यक्रम गरेको छ । पार्टीका नेता मदन भण्डारीको ६८ औं जन्मजयन्ती र बृक्षारोपण दिवसका अवसरमा भएको कार्यक्रममा गोरखा नगरपालीका स्थित पार्टीको नगर कार्यालयमा बृक्षारोपण कार्यक्रम गरिएको सो पार्टीले जनाएको छ ।




