
मनास्लु क्षेत्रमा इको टुरिज्म कार्यक्रम
विश्व बैंकले मनास्लु क्षेत्रमा प्रकृतिमा आधारीत पर्यटन कार्यक्रम(इको टुरिज्म) लागु गर्ने भएको छ । आगामी असोजदेखि मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) मार्फत विश्व बैंकले सो क्षेत्रको सांस्कतिक, बन्यजन्तु, पर्यावारण लगायतका माध्यमबाट पर्यटनको विकास गर्ने लक्ष्यका साथ कार्यक्रम लागू गर्न लागेको हो । विश्व बैंकले गोरखाको मनास्लु सहित ५ वटा संरक्षीत क्षेत्र र लुम्बिनी विकास क्षेत्रलाई समेटेर यो कार्यक्रम सञ्चालन गर्ने एम्क्यापका प्रमुख नरेन्द्र लामाले जानकारी दिए । ५ बर्ष सञ्चालन हुने यो कार्यक्रम सय मिलियन डलरको रहेको उनको भनाई छ । कार्यक्रम अन्तरगत पर्यटकिय गन्तब्य विकास गर्ने, मनोरन्जन, खेल क्षेत्रको सम्भावना को खोजि गरी विकास गर्ने होटल स्तर वृद्धि लगायतका क्षेत्रमा लगानी हुने एमक्याप प्रमुख लामाले बताए ।
कार्यक्रम लागू गर्नुअघि अहिले प्रारम्भीक चरणमा परामर्शदाता मार्फत तथ्यांक संकलनको काम भैरहेको छ । यस्तै, स्थानीय बासीन्दा, स्थानीय तह, सरकारी तथा गैह्रसरकारी निकायसँग अन्तरक्रिया , छलफल तथा सुझाव संकलन लगायतका काम भैरहेको उनको भनाई छ । विस्तृतमा अध्ययन गरेर लगानी गर्ने क्षेत्रको टुंगो लगाउने उनले बताए ।
मनास्लु क्षेत्रमा मनास्लु हिमाल आ रोहणका लागि, लार्के पासका लागि वीरेन्द्रताल, कल्छुमान ताल अवलोकनका लागि पर्यटक जाने गर्छन् । त्यस्तै चुमभ्याली, राजेन गुम्बा, म्हु गुम्बा, चुमगुम्बा, अवलोकन गर्नका लागि पर्यटक जाने गर्छन् । त्यस्तै त्यस क्षेत्रमा बसोबास गर्ने भोटे लामा समुदायले अपनाउने तिब्बती संस्कार, संस्कृति भेषभूषा लगायतको अध्ययनका लागि बर्षेनी करिब आठ हजार जना विदेशी पर्यटन जाने गर्छन् ।




