| शनिबार, बैशाख २५, २०८३

पोखरा–लमजुङ–गोरखा जोड्ने माउन्टेन बाइक ट्रेल संचालनमा

पर्यटकीय नगरी पोखरादेखि लमजुङ हुँदै गोरखा जोड्ने माउन्टेन बाइक ट्रेल संचालनमा आएको छ । पोखरा–लमजुङ–गोरखा माउन्टेन बाइक रुटको लमजुङको पर्यटन व्यवसायीले खाका कोरेका थिए । साढे २ वर्षअघि खाका कोरेर सर्भे गरिएको उक्त ट्रेल २ सय २५ किलोमिटरको छ ।कास्की, लमजुङ र गोरखाका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको ठाउँलाई जोड्ने गरी उच्च पहाडी भेगमा माउन्टेन बाइक रुट संचालन गरिएको पर्यटन व्यवसायीले बताएका छन्। नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा लमजुङ पर्यटन सहकारी संस्था लिमिटेडले उक्त रुटको सर्भे गरेर खाका कोरेको अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताए।

लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले उक्त रुट साइकल यात्रीका लागि एकतर्फी ५ दिनको हुनेछ। पोखराबाट कास्कीको बेगनास तालबेंसीमा आएपछि उक्त रुट सुरु हुन्छ। तालबेंसीबाट लमजुङको भोर्लेटार, दुईपिप्ले, समीभञ्ज्याङ, जिता, नेटा, तुर्लुङकोट, पुरानोकोट, गाउँसहर, रानीकुवा हुँदै उक्त रुट बेंसीसहरमा जोडिएको छ। बेंसीसहरबाट भोटेओडार, अर्चलबोट, श्रीमञ्ज्याङ, ओखरी, गौंडा, प्यारजुङ, राइनासकोट, धमिलिकुवा हुँदै गोरखाको ठाँटीपोखरी, लिगलिगकोट भएर गोरखा पुगी उक्त रुट समाप्त हुन्छ।

पहिलो दिन लमजुङको समीभञ्ज्याङ, दोस्रो दिन पुरानकोट वा गाउँसअर, तेस्रो दिन गौंडा साथै चौथो दिन लिगलिगकोट र पाँचौ दिन गोरखा पुगिन्छ। यी ठाउँमा होटल तथा होमस्टे भएकाले पर्यटकलाई खानबस्न असुविधा नहुने उनले बताए। गोरखा पुगेपछि उक्त रुटबाटै फर्कने वा अन्यत्र जाने विकल्प पर्यटकलाई रहेको उनले बताए।लमजुङको भोटेओडारमा संचालित प्रथम भोटेओडार महोत्सवको अवसर पारेर उक्त ट्रेल संचालनमा ल्याइएको हो। शुक्रबार भोटेओडारबाट निस्किएका १० जना युवाले उक्त रुटको लमजुङ खण्डमा पर्ने पूर्वी भेगको यात्रा गरेका छन्। भोटेओडारबाट अर्चलबोट, श्रीमञ्ज्याङ, ओखरी, गांैडा, प्यारजुङ, राइनास हुँदै पाउँदी झरेका उनीहरु शनिबार साँझ भोटेओडार फर्केको सहभागी महेश श्रेष्ठले बताए। ‘अहिले समय छोटो भयो। यो सुरुवात हो। हामी पोखरादेखि गोरखासम्म पुग्ने समय तय गर्दैछौं,’ उनले भने।

ट्रेलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए। उनले सन् २०२२ सम्म प्रदेश सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकाले लक्ष्य भेट्याउन पर्यटकीय गतिविधि संचालन गरिएको उनले बताए। ‘हाम्रो प्रदेशले पर्यटनलाई पहिलो प्राथामिकतामा राखेर समृद्धिको आधार तय गरेका छौं। पर्यटनबाटै समृद्धि खोज्न हामी पदमार्गदेखि हवाईमार्गसम्म निर्माण गर्ने चरणमा छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्