| बुधबार, असार ९, २०८३

sagar ansari

नयाँ फिल्मले स्टेप लिने मोफसलका कलाकारको आशा !

दरौँदी ः चितवन सौराहा बस्ने दीपक अधिकारी नेपाली फिल्मका सक्रिय कलाकार हुन् । मोफसलमा बसेर पनि उनले करिब ८० वटा चलचित्रमा अभिनय गरिसकेका छन् । चितवन सौराह फिल्म सुटिङका लागि उपयुक्त स्थल भएकाले त्यहाँ सुटिङ हुने फिल्मा उनी प्राय छुट्दैनन् । त्यहाँ बस्दा उनी अभिनय मात्र गर्दैनन्, प्रोडक्शनको जिम्मेवारी समेत निभाउँछन् ।
मोफसलमा बसेर लामो समय चलचित्रको अनुभव गर्दा उनी नेपाली फिल्म क्षेत्रको भविष्य सुनौलो देख्छन् । ‘केही समयअघि त नेपाली चलचित्र निक्कै तल गिरेको हो’ एक भेटको कुराकानीमा उनी भन्छन् ‘तर अब नेपाली चलचित्र तङ्ग्रिने क्रममा छ ।’ केही यस्ता फिल्म बने, जसले नेपाली चलचित्रले नयाँ मोड लियो । पशुपति प्रसाद, छ एकान छ, वडा नं. छ, छक्कापञ्जा १, छक्कापन्जा २, शत्रुगते, जस्ता चलचित्रले ओरालो लाग्दै गएको नेपाली चलचित्रलाई थप पिकअप दिएको उनको बुझाइ छ ।
‘पहिलेको जस्तो चामत्कारिक चलचित्र अब चल्नेवाला छैन’ दीपक भन्छन् ‘धनी बाउकी छोरी र गरिब केटो, गरिब बाउकी छोरी र धनी केटोको मायाप्रेमको कहानी हेर्दा हेर्दा अब दर्शक वाक्क भइसकेका छन् । फरक खालको कथाको अब बजार छ ।’ शत्रुगतेको अपार सफलताबाट अब चलचित्र निर्माताले पाठ सिकेका छन् । ‘कथा राम्रो चाहिने भन्दैमा उपन्यास जस्तो फिल्म पनि त्यति बिक्दैन । पृथक खालको कथा, पर्याप्त कमेडी र राम्रा गीतले चलचित्रलाई सफल बनाउने उनको विश्वास छ । ‘राम्रो फिल्म बन्यो भने बिभिन्न देशबाट डिमाण्ड आउँछ । पहिले जस्तो हलको टिकबाट मात्र पैसा आउने होइन, युट्युबले नै मालामाल बनाइदिन्छ’ भन्छन् दीपक अधिकारी ।
तर नेपाली फिल्मलाई मलजल गर्नका लागि सरकारी निकायले त्यति सहज वातावरण भने नबनाइदिएको उनको गुनासो छ । ‘हामी विदेशमा पनि फिल्म सुटिङका लागि गएका छौं । त्यहाँ सम्बन्धित निकायसंग अनुमति लिएपछि पुग्यो सबका सब दुरुस्त सहयोग मिल्छ’ उनी भन्छन् ‘तर यहाँ सुटिङ गर्न केन्द्रमा अनुमति लियो भने यहाँ आउँदा माथि भनेर हुदैन, यहाँको निकायसंग छुट्टै अनुमति लिनु पर्छ भन्छन् । अनि स्थानीयबासीलाई छुट्टै सम्बोधन गर्नुपर्दा हैरान भइन्छ ।’ सेन्सरबोर्डले हप्तौं, महिनौ झुलाइदिने नमिठो अनुभवन पनि उनीसंग छ । सरकार पनि चलचित्र उद्योगमैत्री हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्