| शुक्रबार, भदौ ४, २०८३

गुम्दा आलुमेला : जुवातासले मेला बद्नाम भएको आरोप

धार्चे ५ गुम्दामा गत मंगलबारदेखि चलिरहेको ऐतिहासिक आलुमेलामा जुवा खेले, खेलाएको आरोप छ । दिनभर भलिबल र सांस्कृतिक कार्यक्रम हुने, रातभर जुवातास हुने स्थानीयकै आरोप छ । दिउँसो आयोजकले भलिबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम तथा अन्य औपचारिक कार्यक्रम गर्ने गरे पनि रातभर लंगुरबुर्जा, तास तथा कौडा पनि खेल्ने गरेको कतिपय स्थानीयको आरोप छ ।

‘पोहोर परार त यस्तो हुन्नथ्यो । अहिले त कहाँ–कहाँबाट नचिनेका केटीहरु आएर लंगुरबुर्जा खेलाएका छन्’, एक स्थानीयले भने, ‘लंगुरबुर्जा तीनखाल छ । तास एक खाल र कौडा पनि एकखाल छ ।’ स्थानीयका अनुसार विशेषगरी महिलाले खेलाएको लंगुरबुर्जामा युवाहरुको भीड लाग्ने गरेको छ । ‘लंगुरबुर्जा खेलाउने केटीहरुले गीतको तालमा ज्यान मर्काउँछन् । अनि त केटाहरुलाई के चाहियो, झुम्मिहाल्छन्’, अर्का एक स्थानीयले भने, ‘केटीहरुले नाचीनाची चाखे थाप्न हौस्याउँछन् । केटाहरु पनि नाचकै तालमा चाखे थाप्छन् । ह्वार्रह्वार्ती पैसा फाल्छन् । टाट पल्टेको पत्तै पाउँदैनन् ।’

आलुमेलामा यो बर्ष विगतभन्दा धेरै विकृति फैलिएको उनको गुनासो छ । बाहिरबाट आएकाले जुवा खेलाएर गाउँका युवाहरुको खल्ती रित्याएको अर्का एकको गुनासो छ । ‘बर्षभरि भारी बोकेर, घन ठोकेर कमाएको पैसा बाहिरबाट दुई दिनलाई आएका ठिटीहरुले खर्लप्पै पारेर लाने भए’, उनी भन्छन्, ‘तास र जुवाले धेरैलाई बिल्लीपाठ पार्ने भयो । स्कूल पढ्ने केटाकेटीहरु पनि राती जात्रा हेर्न जान्छन् । अग्रजहरुले जुवा, तास, लंगुरबुर्जामा रमाएको देख्छन् । आफू पनि त्यतै लाग्छन् ।’ मेलामा खेलाइएको जुवाले गाउँलेको वर्तमान पनि बिग्रिने, भविष्य पनि बिग्रिने उनको चिन्ता छ ।

मेलामा खुल्लमखुल्ला लंगुरबुर्जा खेलाइएको भिडियो सामाजिक सञ्जालमा राखेपछि झन धेरै आलोचनाको विषय बनेको छ ।
मेला संयोजक संस्थाका अध्यक्ष सन्तोष गुरुङ भने लंगुरबुर्जा, जुवा र तास खेलाइएको बारेमा आफूहरुलाई थाहा नभएको बताउँछन् । ‘हामी साँस्कृतिक कार्यक्रममै व्यस्त हुन्छौं । कताकता के के खेलाएका हुन्छन् थाहै हुँदैन’, गुरुङ भन्छन्, ‘जुवा, तास र लंगुरबुर्जा खेलाउन आयोजकले अनुमति दिएको छैन ।’ लंगुरबुर्जा, तास र जुवा खेलेको गुनासो आफूले पनि सुनेको भन्दै यसलाई हटाउन पहल गर्ने उनको भनाइ छ ।

गत भदौ १ गतेदेखि गुम्दामा आलुमेला चलिरहेको छ । गुम्दामा उत्पादन हुने आलुको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने हेतुले मेलाको आयोजना गरिएको आयोजकले बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्