
अर्को वर्ष भेटौँला मनास्लु !
प्रतीक्षा आले ।
सातोरी एडभेन्चर प्रालिका फुर्ते शेर्पा लेख्छन्, ‘हिमाल जहिले पनि त्यहीँ रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ । खराब मौसमका कारण सुरक्षित रहने निर्णय स्पष्ट भएपछि सातोरी एड्भेन्चर्स प्रालिको टोली सकुशल घरतर्फ फर्किँदैछ । अझै पनि हिमालमा रहनुभएका हाम्रा सम्पूर्ण साथीहरू, बलियो बन्नुहोस्, सुरक्षित रहनुहोस्, आफ्नो निर्णयमा विश्वास राख्नुहोस् र सकुशल घर फर्कनुहोस् । कुनै पनि शिखरको आरोहण जीवनलाई जोखिममा पार्न लायक हुँदैन । अर्को वर्ष भेटौँला, मनास्लु ।’
मनास्लुमा रहेको समिट फोर्स टोलीका माइल्स शेर्पा लेख्छन्, ‘तीव्र हावा र निरन्तरको हिमपातले पर्वतारोहीहरूलाई शिखरमा पुग्ने योजनाहरू पुनरावलोकन गर्न र क्याम्प १ र २ बाट आधार शिविरमा फर्कन बाध्य बनाएको छ ।’ आउँदै गरेको ढिलो मनसुनी आँधी प्रणालीले पहिले नै हिमपहिरोको जोखिममा रहेको हिमालमा थप हिउँ थुपार्ने शेर्पाको भनाइ छ ।
‘महिनौँको तयारीपछि बल्लतल्ल पुगेको शिखरबाट फर्कन यसै सहज हुँदैन, तर हिमाल सधैँ यहीँ रहिरहनेछ । मनास्लु सधैँ यहीँ छ । आउँदो वर्ष पुनः फर्कनुहोला । हामीलाई आफ्नो टोलीप्रति गर्व छ, उहाँहरू कति माथिसम्म पुग्नुभयो भन्नेमा मात्र होइन, परिस्थिति अनुकूल नहुँदा सही निर्णय लिने आँट देखाउनुभएकोमा पनि । सबैभन्दा ठूलो सफलता सधैँ शिखरमा पुग्नु मात्र होइन । कहिलेकाहीँ, सुरक्षित रूपमा घर फर्कनु नै सबैभन्दा ठूलो उपलब्धि हो’, भन्दै हिमालय समिट क्लबले आफ्ना आरोहीहरुलाई पनि घर फर्काएको छ ।
समिट क्लबले भनेको छ, ‘विनम्रता, धैर्यता र प्रकृतिप्रतिको सम्मानको अर्को पाठ सिकाएकोमा धन्यवाद, मनास्लु ! अनि यस मनास्लु यात्रामा हामीसँग जोडिनुभएकोमा र आफ्नो विश्वास तथा सहयोगका लागि विश्वभरका हाम्रा सम्पूर्ण आदरणीय अतिथिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । सन् २०२७ मा फेरि भेटौँला ।’
सन् २०२६ को लागि शरदकालीन मनास्लु आरोहण सिजन कसैले पनि आरोहण नै नगरी औपचारिक रुपमा टुङ्गिएको छ । बंगालको खाडीबाट नेपालतर्फ आउँदै गरेको गहिरो न्यून चापीय प्रणालीको प्रभाव विश्वको आठौं अग्लो हिमाल मनास्लुमा पनि देखिएको हो । जसका कारण हिमालमुनि रहेका सयौँ पर्वतारोही र गाइडहरू खतरामा परेका छन् । दुईसातादेखि लगातार मौसमले साथ नदिएपछि आफूहरु मनास्लु आरोहण नगरी धमाधम फर्किएको आरोही नाङ्स्याल छोदेनले बताइन् ।
मनास्लुको क्याप ३ सम्म पुगेका आरोहीहरु चुचुरोमा नपुगी फर्किनु परेको उनले जानकारी दिइन् । ‘यसपालि मौसमले साथ नदिएपछि सबैजना फर्किनुप¥यो, जीवन रह्यो भने हिमालले त पर्खन सक्छ’, उनले भनिन्, ‘अहिले त बेसक्याप पनि रित्तिसक्यो । हामी केही आरोही र शेर्पाको टोलीहरु बेसक्यापमा टेण्ट निकाल्दै छौँ । हामी पनि अब सामागाउँ झर्ने तयारीमा छौँ ।’
यो सिजनमा रोप फिक्सिङ(डोरी बाँध्ने) कार्यदलका केही सदस्यबाहेक अन्यले मनास्लु आरोहण गर्न नपाएको छोदेनको भनाइ छ । उनका अनुसार मनास्लुको क्याम्प ३ सम्म पुगेका आरोहीहरु मंगलबार बेसक्याप झरेका र बुधबार बिहानदेखि सामागाउँ फर्कन थालेका हुन् । केही कम्पनीका आरोहीहरु अक्टोबरमा आरोहण गर्ने तयारीमा रहेका र अधिकांश आरोहीहरु काठमाडौँ फर्कन लागेका आरोही नाङ्स्याल छोदेनले बताएकी छिन् ।
मनास्लु आरोहणको तयारीमा रहेका अमेरिकी आरोही चार्ली एङ्गलले भनेका छन्, ‘आज धेरै मानिसहरू हिमालबाट तल झर्दैछन् । केही मानिसहरू अझै पनि आफैँ तल आउन सकेका छैनन् । उद्धार कार्य अझै जारी छ । अनि मौसमको अवस्था हेर्दा, अबको एक हप्ता वा १० दिनसम्म पर्खनुपर्ने स्थिति आउन सक्छ जस्तो देखिन्छ । त्यसोभए हामी के गर्दैछौं त ? खासै केही छैन । हामी पर्खिरहेका छौं, मौसमलाई नियालिरहेका छौ । के भइरहेको छ भनेर बुझ्ने प्रयास गर्दैछौं र त्यसैका आधारमा निर्णय लिनेछौं ।’
यसअघि सन् २०२२ को शरद ऋतुमा प्रतिकूल मौसमका कारण सयौँ आरोहीहरु मनास्लु आरोहण नगरी फर्किनु परेको थियो । निरन्तर बर्सात र हिमपातका कारण हिमाल चढ्न प्रतिकूल नभएपछि यो वर्ष पनि आरोहीहरु हिमालै नचढी फर्किनु परेको हो ।
हालका लागि मौसम अनूकुल भएपनि फेरि आरोहण गर्न सक्ने सम्भावना नरहेको बेसक्यापमा रहेका प्रबल लामाले जानकारी दिए । ‘विभिन्न देशबाट आएका आरोहीहरु कसैको भिसा सिद्धिएको हुन्छ । आफूमात्र गएर भएन । सरसामान लैजानु पर्छ, गाइड, शेर्पा लैजानुपर्छ । त्यसैले अब फेरि फर्केर आरोहणमा जाने सम्भावना छैन’, लामाले भने, ‘म सन् २०१२ देखि मनास्लु आउन थालेको हुँ । यो वर्षजस्तो भारी वर्षा र हिमपात कहिल्यै आएको थाहा थिएन ।’
सितिमिति पानी नै नपर्ने र परे पनि अति कम पर्ने मनास्लु आधार शिविरमा बिगत दुईसातादेखि निरन्तर पानी परिरहेको सामागाउँका बिरबहादुर लामाले बताए । हाल सामागाउँ बेसक्याम्पबाट फर्किएका आरोहीहरुले होटल खचाखच भरिएको उनले जानकारी दिए । ‘केही मनास्लु सर्किटहुँदै पैदल हिँडेर फर्कने तयारीमा छन् भने अधिकांश हेलीमा फर्किरहेका छन्’, लामाले भने ।
उच्चहिमाली वातावरण द्रुत गतिमा बदलिरहेको छ । हिमपात, बर्षात, हावाको वेग र हिमालको अस्थिरता, यी सबैले हिमाल आरोहणमा निर्णय लिन महत्वपूर्ण भूमिका खेल्छन् । यही विषयको भेउ नपाउँदा सन् २०१२ मा र ११ जना आरोहीको ज्यान गयो ।
८,१६३ मिटर अग्लो मनास्लुलाई प्राविधिक रूपमा कठिन र हिमपहिरोको उच्च जोखिमयुक्त शिखरका रूपमा लिइन्छ । यसका आरोहण मार्गहरूले हिमखानी भरिएका भूभाग, क्याम्प १ र २ बीचको सक्रिय आइसफल तथा माथिल्लो भेग ठाडो, भिरालो पाखा एवं सेराक्सहरू रहेका छन् ।
केहीदिनको अप्रत्याशित भारी हिमपातपछि, मनास्लुमा करिब पाँच फिट नयाँ हिउँ जम्मा भएसँगै हिमालको स्थिति पूर्ण रूपमा परिवर्तन भएको छ । क्याम्प ३ र क्याम्प ४ बीचको बाटो हिमपहिरोको तीव्र जोखिमयुक्त क्षेत्रमा पर्दछ । साथै, हालै गएको हिमपहिरोले डोरी टाँग्ने टोलीलाई समेत प्रभावित पारिसकेको छ । असोज आठ र नौ गतेदेखि नेपालमा अर्को ठूलो मौसमी प्रणाली भित्रिने सम्भावना रहेकाले, आरोही लैजाने कम्पनीहरुले यस सिजनको मनास्लु आरोहण प्रयास यहीँ अन्त्य गर्ने कठिन निर्णय लिएका छन् ।
विश्वको आठौँ अग्लो मनास्लु आरोहण गर्न यो सिजनमा सँधैभन्दा धेरै करिब पाँचसय आरोहीले अनुमति लिएका थिए । यसका साथै पाँचसय जना नेपाली उच्च हिमाली गाइड र सहयोगी कर्मचारीहरू मनास्लुमा आएका थिए । गतबर्ष ४१० जनाले अनुमति लिएकामा यसबर्ष ४९३ जनाले आरोहण अनुमति लिएका थिए । विभिन्न ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए । उनीहरुबाट सरकारलाई २२ करोड ४८ लाख १४ हजार राजस्व आम्दानी भएको छ ।




