| आइतवार, अशोज १७, २०८३

गुम्दामा ऐतिहासिक आलु मेला उद्घाटन

आलुको राजधानी भनेर चिनिने जिल्लाको धार्चे गाउँपालिका ५ गुम्दामा हरेक वर्ष जस्तै यो वर्षपनि आलुमेला सुरु भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको मेलाको मंगलबार गण्डकी प्रदेशका जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपानेले उद्घाटन गरेका हुन् ।

‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन र भावीलाई उत्थान’ भन्ने मूल नाराका साथ आयोजना भएको मेलामा सामाजिक विकास तथा खेलकुद मन्त्री रेखा गुरुङ, धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङ, गुम्दाका वडाअध्यक्ष भिमप्रसाद गुरुङ लगायतको सहभागिता रहेको थियो ।

ऐतिहासिक गुम्दा आलु मेला धेरै वर्ष अघिदेखि नै चल्दै आएको आयोजक थामरा युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘हाम्रो बुवा बाजेले भन्नुभएको, पहिले देखि यहाँ अत्याधिक आलु पाइने हुँदा वरपरका गाउँबस्तीबाट मान्छेहरु आलु खन्ने सिजनमा घुँइचो लागेर आउथ्यो रे’, उनले भने, ‘धेरै मान्छेहरु जम्मा भएपछि आलु खरिद बिक्रीसँगै नाचगान गर्ने, रमाइलो गर्न सुरु भयो । यसरी आलु मेला हुन गएको हो ।’

मेलामा आलु खरिद बिक्रीसँगै जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला लोकनृत्य प्रतियोगिता, आलु खाने प्रतियोगिता, छेलो प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता हुने गुरुङले जानकारी दिए । साथै, स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको उनको भनाइ छ । प्रतियोगिता बिजेताले नगदसहित आलु पुरस्कार पाउने उल्लेख छ ।

‘आजभोलि पहिले जस्तो आलु खरिद बिक्री गर्ने चलन हराइसक्यो त्यसैले यो मेलालाई सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले चलाउँदै आएका छौँ’, उनले भने । मेलामा विभिन्न स्टलमा स्थानीय उत्पादनहरु र विशेषगरी आलुका परिकारहरु उपलब्ध छन् । गुम्दामा उत्पादित आलुको प्रचारप्रसार गर्ने उद्देश्य आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्