
विरुवाटारको भवनलाई सदुपयोग गर्न ढिला नगरौँ
२०७२ सालको भूकम्पका कारण घरबासविहिन भएका पीडितलाई पुनस्थापित गर्ने उद्देश्यले पालुङ्टार नगरपालिका ७ विरुवाटार पुर्नेपिपलमा ठूलो हवेली निर्माण भयो । सात रोपनी जग्गा चर्चेर ३१ करोड रुपैयाँ लागतमा सो भवन निर्माण गरिएको थियो । १२० कोठे सो भवन बनेको यत्तिका बर्ष भइसक्यो, तर अहिलेसम्म सदुपयोग नहुँदा भवन वेवारिसेजस्तै देखिन थाल्यो ।
निर्माण भएका अवयवहरु भत्किने, भाँचिने, टुटफुट हुन थाले । झट्ट हेर्दा विकसित देशका अपार्टमेण्टजस्तो देखिने ती भवनको भित्रि स्वरुप भने विग्रिदै जान थालेको थियो । अर्थात राज्यको ढुकुटीको ३१ करोड दुरुपयोग हुने, माटोमा मिल्ने अवस्था आउला भन्ने सम्भावना थियो ।
तर अहिले हालसालै सशस्त्र प्रहरीलाई विभिन्न प्रयोजनका लागि दिने भनी पालुङ्टार नगरपालिकाले स्वामित्व हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरीले त्यहाँ प्रहरी स्कूल बनाउने लक्ष्य राखेको छ । त्यस्तै विपद् व्यवस्थापन प्रशिक्षण केन्द्रका रुपमा पनि विकास गर्ने लक्ष्य राखेको छ ।
जे जसरी प्रयोग गरे पनि राम्रै छ । तर ढिला होइन, अब छिटो प्रयोग हुनुपर्छ भन्ने आम नागरिकको चाहना हो । एकातिर विकासका पूर्वाधार बनाउन देशमा बजेट छैन । अर्कातिर बनेको पूर्वाधार प्रयोग गर्ने दृढ इच्छाशक्ति छैन । यो भनेको व्यवस्थापकीय कमजोरी हो । अब कुनै पनि बहानाबाजी नगरी ती हवेलीको प्रयोग गर्न ढिला नगरौँ ।
आफ्नो घरआँगनको भीमकाय संरचना विनाप्रयोजन मिल्किरहेको देखेर स्थानीयबासी पनि चिन्तित छन् । यसको जतिसक्दो छिटो सदुपयोग होओस् भन्ने सदीक्षा उनीहरुको पनि छ । पछिल्लो समय सशस्त्र प्रहरीले स्कूल सञ्चालन गर्ने भन्ने खबरले उनीहरुमा एक प्रकारको खुशीको सञ्चार नभएको होइन, तर खबर सुनेको पनि धन्नै बर्षदिन पुगिसकेको छ, तर कार्यान्वयन चरणमा गएको नदेख्दा निराश पनि छन् । अब यसको सदुपयोग गर्न कुनै पनि बहानामा ढिला नगरौँ ।




