
सम्भावित विपद् प्रतिकार्य र व्यवस्थापनको पूर्व तयारीमा स्थानीय प्रशासन
बंगालको खाडीबाट आइरहेको अर्नव.चक्रवातको दुश्प्रभावबाट बच्न, बचाउन गोरखाको स्थानीय प्रशासनले तयारी गरेको जनाएको छ । बुधबार र बिहिबार लगातार बैठक बसी सम्भावित विपद् प्रतिकार्य र विपद् व्यवस्थापनको पूर्वतयारी गरेको हो ।
जल तथा मौसम विज्ञान विभागबाट प्राप्त मौसम सम्बन्धी सुचना अनुसार असोज ११ गतेसम्म गोरखा लगायतका क्षेत्रमा भारीदेखि अतिभारीसम्म बर्षा हुने भएकोले आवश्यक सावधानी तथा पूर्वतयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
बैठकले जिल्लामा उपलब्ध सवारी साधन तथा मेसिनरी उपकरण तत्काल उपलब्ध हुने गरी तयारी अवस्थामा राखेको छ । त्यस्तै सबै सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालयको सवारी साधन र चालकको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय गोरखामा उपलब्ध गराएका छन् । त्यसैगरी जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु र कर्मचारीहरुले अत्यावश्यक अवस्थामा वाहेक विदा र काजमा नबस्ने भएका सप्रजिअ शर्माले जानकारी दिए ।
त्यस्तै स्थानीय मौसमको अवस्थालाई मध्यनजर गरी आवश्यकताका आधारमा शैक्षिक संस्थाहरु बन्द गर्न, गराउन सूचित गरिएको उनले बताए । विपद्का घटना घटेमा तत्काल प्रयोग गर्न सकिने गरी जिल्लामा संचालनमा रहेका एम्बुलेन्स तथा विरामी ओसारपोसार गर्ने साधनहरु र चालकको अद्यावधिक विवरण तयारी अवस्थामा राखिएको छ ।
बिरामी, घाइतेहरुलाई तत्काल उपचार सेवा दिने प्रवन्धका लागि प्रदेश जनस्वास्थ्य गोरखाले आपतकालीन स्वास्थ्य सेवालाई प्रत्याभूत गराउने र स्थानीय तहहरुका स्वास्थ्य इकाइहरुलाई आवश्यक तयारी अवस्थामा राख्ने पनि निर्णय भएको छ ।
त्यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्लामा रहेका सुरक्षा निकायका जनशक्ति र उपकरणलाई चौवीसै घण्टा परिचालित हुने गरी तयारी अवस्थामा राखिएको उनले बताए । कतै सडक, बाटो वा घर संरचनाहरु क्षति भएमा तत्काल मर्मत सम्भारका लागि निर्माण व्यवसायी संघले समन्वय गर्ने निर्णय भएको सप्रजि शर्माले जानकारी दिए ।




