| सोमवार, साउन २४, २०८३

गोरखामा ३२ औं विश्व आदिवासी दिवस मनाइयो

गोरखामा विभिन्न कार्यक्रम गरी ३२ औं विश्व आदिवासी दिवस हर्ष उल्लासका साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजनामा ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

दिवसको अवसरमा आइतबार सदरमुकाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अधिकार प्राप्ती र प्राप्त अधिकारको रक्षा गर्ने विषयलाई विषेश जोड दिइएको थियो । आदिवासी आन्दोलन सेलाउँदै गएकोमा सहभागीहरुले गुनासो गरेका थिए । साथै कला, संस्कृतिको बिकास गर्दै लैजानु पर्ने बताएका छन् । कार्यक्रममा नेवारी धिमे बाजालगायत अन्य सांस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिष्दका विभिन्न इकाईहरुले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ । विश्व आदिवासी दिवस हरेक वर्षको अगष्ट ९ मा पर्छ । यस दिनलाई विश्वभरका आदिबासीले ठूलो पर्वको रुपमा हर्ष उल्लासका साथ मनाउने गर्दछन् ।

महासंघका जिल्ला अध्यक्ष विष्णु राना मगरको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष प्रेमध्वज थापा मगर, तमु ह्युल छोज धीका केन्द्रीय उपाध्यक्ष नरबहादुर गुरुङ, लिल फङ घले समाजका अध्यक्ष रामबहादुर घले, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के, आदिवासी जनजाति पत्रकार महासंघ गोरखाका अध्यक्ष मेलिना बराम, नेवा देय दबुका केन्द्रीय सदस्य विद्या मास्के, महासंघका सदस्य नानुमाया थापा मगरलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्