
राष्ट्रिय परिचय पत्र बनाउन बस रिजर्भ गरेर आए फुजेलका वृद्धवृद्धा
राष्ट्रिय परिचयपत्र बनाउने टोली वडामा आउँदा गण्डकी गाउँपालिका ३ का ८५ बर्षीय भद्रलाल ढकाल अस्वस्थताका कारण छुटे । जिल्ला प्रशासन कार्यालय गएर परिचयपत्र बनाउन पनि उनलाई सहज भएन ।
सरकारले सामाजिक सुरक्षा भत्ता पाउन अशक्तलाई राष्ट्रिय परिचयपत्र वाध्यकारी नहुने गुलियो वचन दियो । त्यसले पनि उनी ढुक्क भएर घरमै बसे । तर अहिले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उनी दिक्क छन् । ‘मैले पाउनु पर्ने वृद्धभत्ता सरकारलाई नै दान भयो । म लिन्न भनेको फेरि जानु पर्छ भनेर परिवारले पनि कर गरे । छरछिमेकले पनि जाम् जाम् भने’, उनले भने, ‘त्यही भएर आज सबैसंग मिलेर अड्डामा आएको छ ।’
जस्तो अवस्थाको वृद्धवृद्धाले पनि वृद्धभत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिन्छ भन्ने नियमले अहिले जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धा आउने क्रम बढेको छ । गण्डकी गाउँपालिका वडा नं. ३ का वृद्धवृद्धा बिहिबार एउटा बस रिजर्भ गरेरै प्रशासन कार्यालय आइपुगे ।
२८ जना वृद्धवृद्धालाई एकसाथ लिएर आएको वडाअध्यक्ष सुवास पन्तले जानकारी दिए । ‘योभन्दा अघि पनि दुईफेरसम्म यसरी नै ल्याएको हो । अझै छुट्नु भएको रहेछ । त्यही भएर सबैलाई समेटेर एकमुष्ट ल्याएको हो । केही साथीहरुले यसमा समन्वय र सहयोग गर्नुभएको छ’, उनले भने ।
वृद्धवृद्धालाई बसमा राखेर एकमुष्ट जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सकस भएको समन्वयकर्ता काजी श्रेष्ठको भनाइ छ । ‘वृद्धवृद्धालाई यो ३०, ४० किलोमिटरको बाटो ल्याउँन पनि धेरै कष्ट भयो’, उनले भने, ‘धेरैजनाले वान्ता गर्नुभयो । दुई पाकेट प्लास्टिक त सिद्धिसक्यो ।’ जिल्ला प्रशासन कार्यालयमा आइपुग्दासम्म धेरैजना बिरामीजस्तै भएको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले फेरि पनि गाउँगाउँमा शिविर खडा गरेर राष्ट्रिय परिचय पत्र बनाउने टोली पठाउनु आवश्यक रहेको उनको भनाइ छ । आएका वृद्धवृद्धा सबैले राष्ट्रिय परिचयपत्र बनाएर फर्किएका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । कतिपयको नागरिकताको प्रतिलिपि बनाएर पनि राष्ट्रिय परिचय पत्र बनाउनु परेकाले केही थप समय लागेको उनको भनाइ छ ।




