
पालुङ्टारको संयुक्त आवसमा कृषि क्याम्पस चलाउने तयारी
भूकम्पपीडित सुकुम्वासीहरुको लागि गोरखाको पालुङटारमा बन्दै गरेको संयुक्त आवासगृह भवनलाई कृषि क्याम्पसको रुपमा प्रयोग गरिने भएको छ ।
पुननिर्माण प्राधिकरणले काम रोक्न आदेशछि च्याङ्ली मा निर्माणाधीन भवन निर्माण अलपत्र परेको थियो । प्राधिकरण सँग उक्त भवन निर्माण सकेपछि कृषि क्याम्पसको रुपमा प्रयोग गर्नेबारे सैद्धान्तिक सहमति भएको नगरप्रमुख दिपकबाबु कडेलले बताए ।‘ नगरपालिकाले कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरबाट सम्बन्धन लिएर कृषि क्याम्पस सञ्चालन गर्ने निर्णय गरिसकेको छ’ उनले भने ‘संयुक्त आवासगृहका रुपमा बन्दै गरेको भवनलाई सोही क्याम्पसको भवनका रुपमा प्रयोग गर्ने पनि कार्यपालीका बैठकले निर्णय गरेको छ ।’
भूकम्पबाट घरबार गुमाएका भूमिहीन र न्यून आय भएकाहरुका लागि पालुङटार नगरपालीकाको च्याङलीमा संयुक्त आवासगृह निर्माण सुरु भएको थियो । प्राधिकरणको आर्थिक वर्ष २०७४÷०७५ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत निर्माण शुरु भएको आवासगृहको काम रोक्न प्राधिकरणलेनै निर्देशन गरेपछि भवन निर्माण अलपत्र परेको हो । प्राधिकरणले २०७३ साउन २४ गते स्विकृत गरेको बहुवर्षीय खरीद गुरुयोजना अनुसार आवासगृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले गत वर्षको असार २४ गते श्यामसुन्दर निर्माण सेवासँग सम्झौता गरि भवन निर्माणको काम शुरु भएको थियो । तर आवास भवनको जग निर्माणको काम सकिनै लागेको बेला प्राधिकरणले गत फागुन ३ गते पत्र लेखि काम रोक्न भनेको हो । ठेकेदार कम्पनी श्यामसुन्दर निर्माण सेवाले हालसम्म १ करोड ८१ लाख रुपैया खर्च भएको भन्दै त्यसको भुक्तानी माग गरेको छ । भवन निर्माणको थप काम प्राधिकरण मार्फतनै हुनुपर्ने आफूहरुको माग रहेको पालुङटारका नगरप्रमुख कँडेलले जानकारी दिए । १५ करोड ५० लाख ९८ हजार रुपैयाको लागतमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार नै भवन निर्माणको काम अघि बढाउने र निर्माण सम्पन्न भएपछि नगरपालीकालाई हस्तान्तरण गर्ने वा अहिले नै हस्तान्तरण गरेर संयुक्त लगानीमा बनाउने भन्नेबारे भने टुंगो लागिसकेको छैन । आवास गृहका लागि जग्गा भने नगरपालिकाले उपलब्ध गराएको थियो ।




