| सोमवार, कार्तिक १६, २०८३

गोरखा नगरपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखा नगरपालिकाको वडा नं १० को छेपेटारस्थित खेलमैदानमा नगरपालिकास्तरीय सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिकाको आयोजनामा मार्चपाससहित आइतबारबाट रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । मार्चपास महालक्ष्मी मावि लाक्ष्मीबजार प्रथम बनेको छ ।

नगरपालिका भित्रका १६ वटा सामुदायिक र ६ वटा बोर्डिङ गरी २२ वटा विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागी रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए । प्रतियोगिताको पहिलो दिन छात्र÷छात्रा तर्फ गरी १० वटा खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन तीन हजार मिटर, रिलेतर्फ ४ सय मिटर, एक सय मिटरको दौड सम्पन्न भई पुरस्कार पनि वितरण गरिएको उनले जानकारी दिए ।

यस्तै सटपुट र लङजम्प खेल पनि सम्पन्न भएको उनले बताए । प्रमुख खड्काका अनुसार प्रतियोगितामा समूहतर्फ भबिल, कबड्डी, दौडतर्फ एक सय, दुई सय, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटर, तीन हजार मिटर र रिलेतर्फ एक सय, ४ सय मिटर, १६ सय मिटरको दौडमा सहभागी विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, हाइजम्प, लङजम्प, त्रिपल जम्प, सटपुट र ज्याब्लिङ थ्रोमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।

गोरखा नगरपालिकाका खेल संयोजक तथा वडा नं. १० का अध्यक्ष प्रदीप कुँवरको अध्यक्षत तथा मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर मसलीमाया थोकर, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा तारा माविका प्रअ मिन बहादुर नेपालीलागायतको उपस्थिति रहेको थियो । कार्तिक १५ गतेबाट सुरु भएको प्रतियोगिता १७ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्