| आइतवार, कार्तिक २२, २०८३

projecter bata padai

टहरोमा प्रोजेक्टरबाट पढाइ

हिमालय मावि बारपाकका विज्ञान शिक्षक आकास श्रेष्ठ झोलामा ल्यापटप, काँधमा प्रोजेक्टर, स्पिकर र विद्युतीय तारहरु झुण्ड्याउँदै हरेक दिन १० बजे कक्षा १० को सेक्सन ए मा पुग्छन् ।
हाजिर लगायतका नित्यकाम सकेपछि ल्यापटप खोल्छन् । छानामा झुण्ड्याइएको रातोकालो तारको प्लगमा विद्युत लाइन जोड्छन् । अगाडिको डेक्समा प्रोजेक्टर, पछिल्लो डेस्कमा ल्यापटप अन गर्छन्, स्पिकर जोड्छन् ।
करिब चार मिनेट लगाएर प्राविधिक जडान गरिसकेपछि उनको कक्षा सुरु हुन्छ ।
उनले अघिल्लो दिन तयार गरेको सामग्री सबै प्रोजेक्टरबाट पढाउँछन् । ‘मिहिनेत गरेअनुसार विद्यार्थीले चासो दिएर पढेपछि खुशी लाग्छ’ उनी भन्छन् ‘टहरोमै भए पनि नयाँ प्रविधिमा पढाउन सुरुवात गरेको छु । विद्यार्थी पनि खुशी छन्, म पनि खुशी छु ।’ दोस्रो पिरेड सोही कक्षाको अर्को सेक्शनमा छ । त्यहाँ पनि उसैगरी पढाउँछन् । पाँचौ सेक्शन एमा र छैठौं सेक्शन बीमा प्राबिधिक सामग्री बोकेर हिडिरहने उनी बताउँछन् । ‘पक्की संरचना भइदिएको भए अहिलेको जस्तो झण्झट हुने थिएन कि’ शिक्षक श्रेष्ठ भन्छन् ‘जस्ताले बारेको कक्षा कोठा छ । प्रोजेक्टरबाट देखाउन खोजेको सामग्री लाइट नमिलेर प्रष्ट देखाउन सकिदैन । फेरि एउटा कोठा र अर्कोको बीचमा जस्ताको बार छ । यताको आवाज उता, उताको आवाज यता हुन्छ । स्पिकरको आवाजले धान्न सकिदैन ।’
स्थायी संरचना भइदिए सिलिङमा प्रोजेक्टरलाई स्थायी तरिकाले राख्न सकिने उनी बताउँछन् ।
बिभिन्न ठाउँमा अवलोकन भ्रमणमा जाँदा आधुनिक प्रविधिबाट पठनपाठन गरेको देखेर आफूले पनि सुरु गरेको उनको भनाइ छ । ‘भौतिक सुविधासम्पन्न भएको ठाउँमा जति राम्रो तरिकाले यहाँ व्यबस्थित गर्न सकेको छैन’ शिक्षक श्रेष्ठ भन्छन् ।
उनले नयाँ शैक्षिक सत्रदेखि छाप्रामा प्रोजेक्टरबाट पढाएका हुन् । भदौदेखि कक्षा नौमा पनि यसैगरी पढाउने योजना बनाएको उनले बताए ।
आफूले गरेको कामको देखासिकी अरुले पनि गरिदिने आशा उनले ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्