
मनकामना बहिरा माविका विद्यार्थीलाई पढ्नबाट बञ्चित नगराऔं
बिगत १० दिनदेखि मनकामना बहिरा मावि बन्द छ । कर्मचारी श्यामहरि घिमिरेको मृत्यू(हत्या ?) घटनाको यथासीघ्र छानबीन गर्न माग गर्दै स्थानीयबासीले विद्यालयमा ताला लगाएका हुन् ।
अहिले गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयभरि प्रथम त्रैमासिक परीक्षा चलिरहेको छ । तर त्यहाँ अध्ययनरत ११९ जना विद्यार्थीले न पढ्न पाएका छन्, न परीक्षा दिन ।
मृत्यू वा हत्याको छानबीन भइरहेको छ । अझ छिटो अनुसन्धान गर्न निरन्तरको दबाब, आग्रह, ध्यानाकर्षण, जारी राख्नुपर्छ । तर विद्यालय बन्द गरेर होइन । साबित भयो भने विद्यालयका केही विद्यार्थीको गल्ती हुनसक्ला, तर ११९ जना सबै विद्यार्थी दोषी हुदैनन् । उनीहरुको पठनपाठनमा बाधा ब्यबधान गर्नुहुदैन ।
मृतकका परिबार शोकमा छन् । उनीहरुले न्याय पाउनु पर्छ । यसमा कसैले फरक मत राख्नु हुदैन, तर निर्दोष बालबालिकालाई पढ्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गर्नु पनि हुदैन । साधारण खालका विद्यार्थी भए, अरु विद्यालयमा सरुवा हुनेथिए, त्यो पनि सम्भव भएन । उनीहरुलाई अरु विद्यालय उचित हुन सक्दैन । त्यसैले विवादित विषयलाई घनिभूत रुपमा समाधान गर्न लाग्ने सहमति गरी विद्यालय खुलाउनु पर्छ । बहिरा संघलाई कहाँ राख्ने, होस्टल कहाँ बनाउने, समिति परिवर्तन गर्ने कि के गर्ने जस्ता विषय बहसमा छन् । त्यसको बारेमा स्थानीय पीडित परिबार, नगरपालिकाभित्रको विद्यालय भएकाले नगर शिक्षा कार्यालय, नगर कार्यपालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, व्यवस्थापन समिति एक ठाउँमा बसेर समस्या सल्टाएर विद्यालय खुलाउने प्रयास गर्नुपर्छ ।




