
गोरखा नगरपालिकाले दियो, विद्यार्थीलाई स्कोलरसिप, शिक्षकलाई फेलोसिप
गोरखा नगरपालिकाले २५ जना विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति वितरण गरेको छ ।
कक्षा नौ मा अध्ययनरत गोरखा नगरपालिका भित्रका १२ विद्यालय का २५ जनालाई नगर प्रमुख छात्रवृत्ति वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको युवा खेलकुद तथा शिक्षा शाखाको आयोजनामा कार्यालयमा भएको कार्यक्रममा मेयर राजनराज पन्त र शाखा प्रमुख भरतकाजी अर्यालले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरे ।
छात्रवृत्ति अन्तरगत हरेक विद्यार्थीलाई दश हजार रुपैयाँ प्रदान गरिएको छ ।
छात्रवृत्तिका लागि आवेदन दिएका एक सय १६ विद्यार्थीमध्ये नगर प्रमुखको अध्यक्षतामा रहेको नगर प्रमुख छात्रवृत्ति समितिले बनाएको मापदण्डका आधारमा २५ जना छनौट गरिएको हो ।
छात्रवृत्तिका लागि दलित, जनजाती र सिमान्तकृतको हकमा जिपिए ३.२ भन्दा माथि र अन्यको हकमा जिपिए ३.६ भन्दा माथि अंक ल्याउनेहरुबाट आबेदन माग गरीएको थियो । दलित, अनाथ, सिमान्तकृत, जनजातीहरुको कोटा निर्धारण गर्नुका साथै प्रतिविद्यालय एक जनाले अनिवार्य छात्रवृत्ति पाउने ब्यबस्था मिलाईएको शिक्षा शाखाले जनाएको छ । जसका आधारमा सरस्वती मावि आहाले र नवज्योती मावि डण्डीडाँडाबाट ५ ÷५ जनाले छात्रवृत्ति पाएका छन् । गरिब तथा जेहेन्दार छात्रछात्राको सिकाई सुधारमा सहयोग र गुणस्तरमा वृद्धि गर्ने उदेश्यले छात्रवृत्ति वितरण गरेको शिक्षा शाखाका धुब्र अर्यालले जानकारी दिए ।
सोही कार्यक्रममा लघु तथा कार्यमुलक अनुसन्धान मुल्यांकनमा छनौट भएका आठ शिक्षकलाई प्रोत्साहन रकम वितरण गरिएको छ । सिकाई सुधारका लागि शाखाले शिक्षक सहभागी हुन पाउने गरी शैक्षिक गुणस्तर, पहँुच विस्तार र शैक्षिक ब्यबस्थापन शिर्षकमा रहेर १४ पृष्ठ लामो अनुसन्धानका लागि सुचना जारी गरेको थियो । सोही सुचनाका आधारमा अनुसन्धान बुझाएका आठ जना लाई नै विज्ञ समुहको मुल्यांकनका आधारमा जनही दश हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको छ ।
नगरपालिकाकी उप मेयर विना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठले शिक्षकहरुलाई प्रोत्साहन रकम वितरण गरेका थिए । प्रोत्साहन रकम पाउनेमा शिक्षकहरु उदयबहादुर भट्ट, पुरुषोत्तम भट्टराई, गोपाल मरहट्टा, विष्णु बहादुर थापा, मिनबहादुर नेपाली, टेकबहादुर उपरकोटी, रत्न ढकाल र अनिल लामिछाने छन् ।
शिक्षा शाखा प्रमुख भरतकाजी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेयर राजनराज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, नगरपालिकाको सामाजिक विकास समिति संयोजक रहमतुल्ला मियाँ, शिक्षक उदयबहादुर भट्ट, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




