| सोमवार, कार्तिक २३, २०८३

ऐतिहासिक चुङ्काङ्कोटको संरक्षण गरौँ

यदु अधिकारी उपप्राध्यापक, गोरखा क्याम्पस गोरखा

 

गोरखा जिल्लाका ऐतिहासिक पुरातात्विक ३६ वटा कोटहरू मध्ये उत्तरी क्षेत्रको धार्चे गाउँपालिकाको गुम्दामा रहेको उत्कृष्ट कोट मध्ये चुङकाङकोट पनि एक हो । त्यहाँको स्थानीय भाषामा चुङ भनेको टुप्पोको काङ भनेको डाँडाको कोट हो । यसको अर्थ डाँडाको टुप्पा रहेको कोट भन्ने हुन्छ ।
प्राचीनकालका ऐतिहासिक कोटहरूमा घले गुरूङ र मगर आदिले शासन गरेको इतिहासमा प्रमाण पाइन्छ । हाल २३९४ मि. उचाइमा रहेको यस कोटमा त्यहाँ प्राचीनकालमा स्वजा तमुहरूले शासन गरेको थिए भनी स्थानीय टेकबहादुरले बताएका छन् । द्रव्यशाहका सन्तति रामशाहले गोरखाको एकीकरण गर्नुपूर्व त्यस कोट शाह खलकसँग अन्य राजासँग बारम्बार युद्ध भएको र त्यहाँका स्वजा खलकका राजाहरूले चारैतिर ढुङ्गोलाई चित्रोले भकारी बेरेभैm बेरी युद्ध गरेका थिए । चारैतिरबाट ढुङ्गो हानी भक्याम्लोको काठको खुकुरी, खुर्पा र खुँडाजस्तो बनाई शत्रुलाई विजय गरेका थिए । त्यस कोटलाई रामशाहले विजय गरेका कुरा ऐतिहासिक आधारमा पुष्टि हुन्छ ।
वि.स.१८११ मा त्यो कोट पहिरो गई त्यहाँदेखि तल रहेको गुम्दाको सिनक्यू गाउँ नै बगाएर धेरै मान्छेको मृत्यु भएको त्यहाँका जनसाधारणले बताउँछन् । त्यस कोटमा खाँबा, ढिकी, जाँतो र बैठक बस्ने कोठाको अवशेष र चौर २०७२ पूर्व देखिएको थियो । त्यहाँ प्राचीन खुँडा र कुकुरको साङ्लो सिङ्लाका भेडा गोठालाले लगेका थिए भनी गाउँपालिकाका अध्यक्ष सन्तोष गुरूङले बताए ।
०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले त्यस कोटलाई क्षति बनायो । त्यहाँबाट आगोको ज्वाला निस्केर गयो भनी टाढा(टाढाबाट देख्नेहरू बताउँछन् । कसै(कसैले भूकम्पको केन्द्र नै त्यही हो भनेर दाबी गरेका पनि छन् । त्यहाँ भूकम्पमा परी ९ जना गोठालाहरूको मृत्यु भयो । गाउँमा १७ जनाको मृत्यु भयो । एकजनाको पन्ध्र ठाउँमा शरीर भाँचिएको अबस्थामा तीन दिनपछि भीरको अनकन्टारमा गाउँलेहरूले फेला पारे । ती व्यक्ति एक वर्षको उपचार पश्चात् गाउँमा गएर बसेका छन् । त्यहाँ आगोको ज्वाला निस्केको ढुङ्गा र ढुङ्गा जलेको अवशेष देखिन्छ । हाल त्यो कोट क्षति भई त्यहाँ ऐतिहासिक मानचित्रमा केही पनि देखिदैन । कोट भीरको ठूलो ढुङ्गाको रूपमा परिणत भएको छ ।
ऐतिहासिक यस्ता कोटहरू कति त्यसै भत्किएका छन् भने कति भूकम्पले क्षति बनाएको छ । बूढापाकाहरूको जन जिब्रोमा यस कोटको महिमा र राजाको बयान सुनिदैछ ।
नयाँ पुस्ताले यस कोटको ऐतिहासिक महत्व बिर्सने छन् तसर्थ यस्ता कोटहरूलाई ऐतिहासिक दस्तावेजको रूपमा पुरातत्व विभागले राख्न सकेमा नेपाल र गोरखाका गर्वको सम्पति हुनेछ भन्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्