
तोमनडाँडा आधारभुत विद्यालयमा चेपाङ छात्राबास निर्माण
गण्डकी गाउँपालिका ६ भुम्लिचोकको तोमनडाँडा आधारभुत विद्यालयमा चेपाङ विद्यार्थीका लागि छात्राबास निर्माण गरिएको छ । साविकको जिल्ला विकास समितिको बजेटबाट निर्माणाधिन भवनलाई प्रतिनिधी सभाका सांसद हरीराज अधिकारीले सांसद विकास कोषबाट उपलब्ध गराएको १५ लाख रुपैयाँ बजेटले पूर्णता दिईएको हो । छात्राबासको एक कार्यक्रमका बिच सांसद अधिकारीले उद्घाटन गरे । १२ कोठा रहेको छात्राबासमा हाल २२ जना विद्यार्थीले आवासिय सुविधा लिएका छन् । थप तिन जना विद्यार्थीले छात्राबासमा बस्नका लागि निवेदन दिएका प्रधानाध्यापक कुलबहादुर चेपाङले बताए । सोही अबसरमा प्रधानाध्यापक चेपाङले विद्यालयमा घेराबार, छात्र र छात्रालाई छात्राबासका लागि छुट्टाछुट्टै भवन, फर्निचर लगायत पुर्वाधार विकासमा सहयोग गर्न सांसद अधिकारीसँग माग गरे । सांसद अधिकारीले विद्यालयलाई शैक्षिक र भौतिक हिसाबले सबल बनाउन पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । ८ कक्षासम्म पढाई हुने सो विद्यालयमा दुई सय २५ विद्यार्थी अध्ययनरत छन् । तिमध्ये चेपाङ समुदायका विद्यार्थीको संख्या धेरै रहेको प्रधानाध्यापक चेपाङले जानकारी दिए ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम चेपाङको अध्यक्षतामा भएको कार्यक्रमा पुर्व सभासद माया चेपाङ, गाउँपालिका अध्यक्ष होमबहादुर राना, शहिद लखन गाउँपालिका वडा नं ४ का अध्यक्ष कृष्ण चेपाङ, गण्डकी गाउँपालिका वडा नं ६ का अध्यक्ष जिवन गुरुङ, प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङ, नेकपाका गण्डकी प्रदेश सदस्य साकार तिमिल्सीना लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




