
गोरखा र दोलखाका ४० विद्यार्थीलाई एनआरएनएको छात्रवृत्ति
काठमाडौँ– भूकम्प अतिप्रभावित गोरखा र दोलखाका ४० जना विद्यार्थीलाई एनआरएनए थाइल्याण्डले छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसमध्य कम्तीमा ५० प्रतिशत छात्रा रहनेछन् ।
एनआरएनएले यो वर्ष गोरखाको बारपाक–सुलिकोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय, सौरपानी र सिद्धार्थ माध्यामिक विद्यालय, जौबारी तथा दोलखाको कालिञ्चोक गाउँपालिकाको निकोभुमे माध्यमिक विद्यालय, बाब्रे र कालिनाग माध्यमिक विद्यालय सुनखानीका १०र१० जनालाई छात्रवृत्ति प्रदान गरिने एनआरएनएले जनाएको छ ।
सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ बीचमा अध्ययनरत पिछडिएका समुदायको, भूकम्प वा द्वन्द्व प्रभावित, अपाङ्गता भएका, गरिबीको रेखामुनि रहका, अनाथ वा एकल अभिभावक वा अपाङ्गता भएका अभिभावक लगायतका आधारमा छात्रवृत्ति निर्धारण गरेको छ। शैक्षिक सत्र २०७५ मा कक्षा ९ र कक्षा १० मा अध्ययनरतले पाउने छात्रवृत्ति उनीहरूले कक्षा १२ सम्म पाउनेछन् ।
विद्यार्थीले छात्रवृत्ति वापत प्रति विद्यार्थी प्रति शैक्षिक सत्र १४ हजार ५ सय रुपैयाँसहित ब्याग र केही स्टेसनरी सामग्री पाउनेछन् ।
अक्षय कोषमा मेगा बैंकले कम्तिमा पाँच वर्षका लागि वार्षिक तीन लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको छ । छात्रवृत्ति आगामी बैशाख ६ गते गोरखा र बैशाख १० गते दोलखामा वितरण गरिने कार्यक्रम रहेको छ ।