
विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि पहल गर्दै अजिरकोट
अजिरकोट गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि पहल थालेको छ । गाउँपालिकाले हालका समस्याको पहिचान गरि समस्या समाधानका साथ शैक्षिक गुणस्तर बढाउनका लागि विभिन्न कार्यक्रमको थालनी गरेको छ । जसअनुसार सोमबार शैक्षिक गुणस्तर सुधार सम्बन्धी दुईदिने अन्तरक्रिया भएको छ ।
हिमालय मावि सिम्जुङमा भएको कार्यक्रममा सहभागीहरुले सामुदायिक विद्यालयको गुणस्तरमा देखिएका समस्या समाधानका लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय ब्यबस्थापन समिति र स्थानिय सरकार सबैबिच समन्वय र सहकार्य आबश्यक रहेको बताएका छन् । मंगलबारसम्म चल्ने कार्यक्रमले शैक्षिक सुधारका उपाय तय गर्ने प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले बताए ।
कार्यक्रममा अजिरकोट गाउँपालिकाका २९ विद्यालयका प्रधानाध्यापक, ब्यबस्थापन समिति अध्यक्ष,जनप्रतिनिधी लगायतको सहभागीता रहेको शिक्षक देवीप्रसाद नेपालले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष फडिन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य प्रकाश दवाडी, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिताराम पन्त लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
सोही अबसरमा एस ई ई परिक्षाको तयारीमा रहेका विद्यार्थीलाई बुस्ट अफ क्लास सञ्चालन गरिएको छ । कार्यक्रममा अंग्रेजी, विज्ञान र गणित विषयमा ग्रेडबृद्धि गर्न सकिने उपाय तथा प्रभावकारी सिकाईका बारेमा विज्ञहरुले सहजिकरण गरेका छन् । विद्यार्थीहरुलाई विज्ञान विषयमा चिन्तामणि पन्थी, र मदनबाबु दवाडी, अंग्रेजी विषयमा रमेश ढकाल र गणित विषयमा श्यामदत्त अधिकारीले सहजिकरण गरेका छन् ।




