| सोमवार, कार्तिक २३, २०८३

रत्नराज्यको विवाद टुंगाउने पहल जारी ः ब्यबस्थापन समिति

गोरखा नगरपालिका १० को रत्नराज्य माध्यामिक विद्यालयमा जारी विवाद समाधानका लागि बृहत छलफल हुने भएको छ । प्रधानाध्यापक नियुक्ति सम्बन्धी विवादका कारण एक सातादेखि सो विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ । वार्षिक परीक्षाको सम्मुखमा पढाई प्रभावित भएपछि विवाद समाधानका प्रयासलाई तीब्र बनाइएको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ । सोमबारदेखि आशिक पढाई भैरहेकोमा आइतवारदेखि भने नियमित पठनपाठनको वातावरण बनाउन पहल थालिएको ब्यवस्थापन समिति अध्यक्ष धनबहादुर आलेले बताए । सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले विद्यालय छाडेर नगरपालीकामा हाजिरी गरिहेका शिक्षकहरुसँग पनि छलफल गरिएको बताए । उनीहरुले भने सरला देवकोटालाईनै प्रधानाध्यापकमा निरन्तरता दिनुपर्ने अडान राखेका अध्यक्ष आलेले बताए । विवादको छिटो समाधानका लागि आफ्नो तहबाट पनि प्रयास गरिरहेको पहल गरेको गोरखा नगरपालीका वडा नम्वर १० का अध्यक्ष देवीबहादुर बस्नेतले बताए ।
नगर प्रमुख र नगर शिक्षा समितिका सदस्यहरुसँग वडाध्यक्षद्धयले निरन्तर संवाद गरिरहेको ब्यवस्थापन समितिका अध्यक्ष आलेले जानकारी दिए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा नगर शिक्षा ऐन २०७४ को दफा २१ अनुसारनै गठन भएकाले विद्यालय ब्यवस्थापन समिति वैधानिक भएको दावी गरिएको छ । सोही ब्यवस्थापन समितिले शिक्षा नियमावलीको परिच्छेद १७ अनुसार वरिष्ठतम शिक्षक तेजबहादुर नेपालीलाई प्रधानाध्यापक नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ । समितिको वैधानिकताबारे प्रश्न उठाउँदै परेको उजूरीबारे नगरपालीकाले लामो समयसम्म फैसला नगर्दा पनि विवाद बल्झिएको रत्नराज्य माविको ब्यवस्थापन समितिको भनाई छ । विज्ञप्तिमा प्रधानाध्यापक सरला देवकोटामाथि अभिभावकबाट कुनै अपमान र दुब्र्यवहार नगरिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्