
फागुनमा स्ववियु चुनाव
आगामी फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालयले देशभरका आफ्ना क्याम्पसहरूलाई निर्देशन दिएको छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आंगिक क्याम्पसहरूलाई परिपत्र गर्दै निर्वाचनको पूर्वतयारी गर्न भनेको हो ।
काठमाडौँ उपत्यकाभित्र र बाहिरका सबै आंगिक क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न परीपत्रमा निर्देशन दिइएको छ । त्रिवि मातहतका ६० क्याम्पसमा हरेक २र२ वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । मुलुकभर त्रिविले सम्बन्धन दिएका एक हजार ८५ सामुदायिक र निजी क्याम्पस पनि छन् । ती मध्ये एक सय ५० भन्दा बढी सामुदायिक कलेजहरूले पनि स्ववियु निर्वाचन गराउँदै आएका छन् ।
यसअघि २०७३ फागुन १८ गते चुनाव भएको थियो । निर्देशनालयले उक्त निर्वाचनबाट निर्वा्चित पदाधिकारी र सदस्यहरूको दुई वर्षे कार्यकाल सकिन लागेकाले अर्को निर्वाचनको पूर्वतयारी थालेको जनाएको छ । यद्यपि त्रिविका अधिकांश क्याम्पसहरूमा २०७३ सालमा निर्वाचन हुन सकेको थिएन ।
परीपत्रमा फागुन महिनामा हुने चुनावको पूर्वतयारी गर्न विद्यार्थी संगठनहरुलाई पनि अपिल गरिएको छ । अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरूमा समेत यस वर्ष विद्यार्थी सङ्घरसंगठनहरुको सहमतिमा निष्पक्ष ढङ्गले स्ववियु निर्वाचन हुने अपेक्षा गरिएको त्रिविले जनाएको छ । त्रिवि क्यालेण्डरमा फागुन १४ गते चुनाव गर्ने उल्लेख छ । गत वर्ष १८ गते मात्रै चुनाव भएको थियो । ‘फागुन १८ गते दुई वर्ष अघि निर्वा्चित स्ववियूको म्याद सकिन्छ,’ निर्देशनालय प्रमुख गङ्गा थापामगरले भने, ‘केही दिनमै निर्वाचनको मिति तोक्छौँ ।’ विद्यार्थी सङ्घरसंगठनहरुको सहमतिमा फागुन १४ वा १८ गतेलाई चुनावको मिति तोकिने उनले जनाए ।
दुई वर्ष अघि त्रिविले पहिलो पटक विद्यार्थीहरूको उमेर हद २८ वर्ष तोकेर स्ववियु निर्वाचन गराएको थियो । त्रिविको निर्वाचन सम्बन्धी परिपत्र सकारात्मक रहेको विद्यार्थी संघसंगठनहरुले जनाएका छन् ।




