शिक्षक छनौट परीक्षाका लागि केन्द्र निर्धारण
दरौंदी ः शिक्षक सेवा आयोगको शिक्षक छनौट परिक्षाका लागि गोरखामा परीक्षा केन्द्र निर्धारण गरिएको छ । असोज ११ देखि १३ गतेसम्म हुने विभिन्न तहको परिक्षाका लागि केन्द्र निर्धारण गरी केन्द्राध्यक्ष तोकिएको हो । जसअनुसार माध्यमिक तहको परीक्षाका लागि ३, निम्न माध्यमिक तहका लागि ७ र प्राथमिक तहको परिक्षाका लागि १२ केन्द्र निर्धारण गरिएको छ । सदरमुकाम र आसपासका विद्यालयहरुमा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेलले बताए । केन्द्राध्यक्षहरुका लागि मंगलबार अभिमुखीकरण कार्यक्रम पनि गरिएको छ । यो परिक्षापछि गोरखामा प्राथमिक तहका तीनसय ७८ दरबन्दीको एकसाथ स्थायी पदपूर्ति हुने भएको छ । हाल अस्थायी र करारमा रहेका शिक्षकलाई विस्थापन गर्ने गरि शिक्षक सेवा आयोगले पदपूर्ति गर्न लागेको हो । देशभर प्राथमिक तहमा स्थायी शिक्षक नियुक्त गर्ने क्रममा गोरखामा ३ सय ७८ शिक्षकको पदपूर्ति हुन लागेको हो । आयोगले साविकको पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लामा शिक्षक पदपूर्तिका लागि आवेदन आब्हान गरेको थियो । प्रावि तहको ३ शय ७८ पदका लागि ४ हजार ७ शय ६१ ले आवेदन दिएका छन् । प्राथमिक तहमा मागसंख्या भन्दा १३ गुणा बढीले आवेदन दिएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । साविकको पश्चिमाञ्चल विकास क्षेत्रभरिका जिल्लाहरुका लागि मावि तहमा विभिन्न विषयका लागि ३ शय १७ पदमा आवेदन माग भएकोमा ७ शय ४६ जनाको आवेदन परेको छ । निम्न माध्यमिक तहमा भने १ हजार ९ शय ५३ जनाले आवेदन दर्ता गराएका छन् । आवेदन बुझाउने मध्ये मावि तहमा सामाजिक शिक्षा विषयमा सबैभन्दा धेरै २ शय ११ जना रहेका छन् भने निमावि तहमा सबैभन्दा धेरै नेपाली विषयमा ५ शय ९४ जनाले आवेदन बुझाएका छन् । परीक्षापछिका सबै प्रक्रिया पूरा गरि शिक्षक नियुक्त गर्न ६ महिनाभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ । त्यस आधारमा आउँदो शैक्षिक सत्रको शुरुतिरबाट स्थायी शिक्षक पदपूर्ति भैसक्ने शिक्षक सेवा आयोगले जनाएको छ ।




