| आइतवार, कार्तिक २२, २०८३

पढौं, सुनौं र पृष्ठपोषण गरौं

अनुपमा खनाल ः रिर्पोटिङका क्रममा ३ महिनाअघि गोरखाको धार्चे गाउँपालिका २ केरौंजा पुगेको थिएँ । दाउरा ल्याउन डोको बोकेर जंगलतिर जाँदै गरेकी मनकुमारी विकसँग यो पटक मुलबाटोमै जम्काभेट भयो । देख्नासाथ उनले भनिहालिन् ‘पोहोर पनि आउनुभाथ्यो, हाम्रो दुख भरेर लैजानुभयो, समस्या ज्युँका त्युँ छ । अहिले त केहि ल्याईदिनुभा होला कि ?’ भुकम्पपछिको पहिरोले घर बगाएपछि छिमेकको जग्गामा पाल टाँगेर बसेकी उनले त्यसबेलासम्म घर बनाउने जग्गा पाएकी थिईनन् । उनले केहि ल्याईदिनु भएको छ भनेर सोध्नुको अर्थ मसँग उनीहरुको पुनर्वास सम्बन्धी केही खबर छन् कि भन्ने थियो ।
केरौंजामा जस्तै भयो, सिरानचोक ६ को गाँखुमा पुग्दा पनि । भोगचलन गरेको जग्गा आफ्नो नाममा नहुँदा भुकम्पले भत्केको घर बनाउन नसकेको पिडा थियो सुकुम्बासी टोलमा । गाउँलेहरुसँग केहीबेर सामुहिक रुपमा कुराकानी गरेपछि एक वृद्धले छुट्टै भेटे । सामुहिक कुराकानीका क्रममा भावुक मुद्रा लिएर मौन बसेका उनले भने ‘मीस, मेरो त घर बनाउने जग्गा नै छैन । अहिले बसिरहेको सरकारी जग्गा मिलाइदिनु प¥यो ।’
रिर्पोटिङका क्रममा गोरखाका प्राय सबैजसो पत्रकारले केही आशा मिश्रित्र यस्ता कैयौं प्रश्न सुन्नुपर्छ, जसको सिधा उत्तर हामीसँग हुँदैन । कुरा भुकम्पपछिको मात्रै होईन, त्यसअघि पनि यस्ता प्रश्न आउथे । तिनैमध्येको एउटा क्षण सधै याद आउछ ।
सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएकाहरुको परिवारको अबस्थाबारे बुझ्न १० किलोको कुमाल बस्तीमा पुग्दा बेपत्ता जमुनाकी आमाले ‘नानी, मेरा यति धेरै दुख सुन्नु भो, टिप्नु भो, के अब तपाईँले मेरो छोरी ल्याईदिन सक्नुहुन्छ त ?’ सरकारले गठन गरेको बेपत्ता छानविन आयोग समेत अमलमलमा परिहेको बेला म जिल्लातहमा काम गरिरहेको पत्रकारले उनको छोरीको अवस्था पत्ता लगाइदिन सक्ने कुरै भएन । पत्रकारप्रति नागरिकको कत्ति धेरै आशा र भरोसा हुने रहेछन् भन्ने कुराले मलाई अझै मनमा आइरहन्छ ।
समयक्रमसँगै अहिले समाज फेरिएको छ, मान्छेको जीवनशैली फेरिएका छन् । नागरिकको चेतनास्तर एक हदसम्म बढेको छ । सञ्चारका माध्यममध्ये तुलनात्मक रुपमा सहज पहुँच हुने एफएम रेडियो प्रशारण गाऊँगाऊँसम्म पुगेको छ । भौगोलिक कठिनाई लगायतका कारण पत्रपत्रिका गाऊँसम्म पु¥याउन सजिलो छैन, पुगेपनि आजका पत्रिका आजै पु¥याउन कठिन छ । तर नागरिकका हातहातमा मोबाइल छ, इन्टरनेटको पहुँच पाउनासाथ गाऊँको एउटा कुराको मान्छे विश्वजगतसँग एकछिनमै जोडिन सक्छ । अनलाईन हेर्ने र सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्यालाई अब गाऊँ र सहर भनेर छुट्याइरहनु पर्ने अवस्था छैन । हातहातमा स्मार्टफोन बोकेका नागरिकहरु इन्टरनेटमा जोडिनासाथ देशविदेशका ताजा ताजा खबरको अपेक्षा गर्न थाल्ने भएका छन् । कतै कुनै दुर्घटना भएको हल्ला मात्रै चलोस्, नागरिकहरु मोबाइलमा त्यसको थथार्य विवरण खोज्न थालिहाल्छन् । यसको मतलव सञ्चारमाध्यमप्रतिको नागरिक अपेक्षा ह्वात्तै बढेको छ ।
कतिपयले सामाजिक सञ्जालले पत्रकारको रोजिरोटी नै खोसिदिने भयो भन्नेसम्मका ठट्टा गर्ने गरेपनि अन्त्यमा समाचारको विश्वसनी यताका लागि नागरिकले सञ्चार माध्यमकै भर पर्छन् । यति मात्रै होइन, आफ्नै घरआँगनसम्म रेडियो पत्रपत्रिकाको उपस्थिति हुन थालेपछि उनीहरु अफ्नो गाउँका साना साना दुखसुखका कुरापनि समाचार बन्दियोस् भन्ने अपेक्षा गर्न थालेका छन् । कोही सञ्चारकर्मी आफ्नो अरु काम र उदेश्यले कुनै ठाऊँमा पुगेको होस्, उनीहरु भन्छन् ‘यो भत्केको बाटो कहिले बन्ला ? यसको सामाचार बनाइदिए त चाँडै बन्थ्यो कि ? रोकिएको पुल निर्माणको काम अब सुरु हुन्छ त ?, स्कुलमा शिक्षक दरबन्दीको ब्यबस्था मिलाईदिनप¥यो, खेती लगाउने मान्छे पाईनै छाड्यो ।’ सञ्चार माध्यममा प्रकाशन प्रशारण भएपछि सरोकारवालाको ध्यान जान्छ र रोकिएका र बिग्रिएका कामहरु तिब्र गतिमा सुरु हुन्छन् भन्ने उनीहरुको विश्वास छ । आफ्ना दुखसुख बिसाउने मान्छे त कैयौ भेटिन्छन्, तर कमैले मात्रै त्यसलाई गम्भिरतापूर्वक लिन्छन् । पत्रकारितामा नहुँदो हो त म पनि सायद मेरो ठाऊँमा कुनै पत्रकार पुग्दा यस्तै आशा गर्ने थिएँ होला । किनकि नागरिकका समस्या सम्बन्धित ठाऊँसम्म पु¥याइदिने मात्रै होइन, त्यसपछि के भयो वा भएन भनेर सोधीखोजी गर्ने धेरैजसो पत्रकार हो ।
पत्रकारिताले प्रत्यक्ष रुपमा घर बनाउने जग्गा दिन, बेपत्ता भएकी छोरी खोजेर ल्याउदिन र बाटो, पुल बनाइदिन वा शिक्षक दरबन्दी मिलान गरिदिन सक्दैन । तर पत्रकारका कलम र आवाजले लेखेका÷भनिएका खबरले उनीहरुका समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण भने पक्कै गर्छ । त्यहि कलम र आवाजले बाटो र पुल बनाउने ठेकेदार र कार्यालयलाई जवाफदेही बनाउँछ । हरेक क्षेत्रमा पारदर्शिता र सुशासन खोज्छ ।
अहिले राज्य ब्यबस्था परिवर्तन भएसँगै तीन तहको सरकार बनेको छ । सबै तहको सरकारसँग नागरिकका अपेक्षा जसरी बढेका छन्, त्यसैगरी प्रविधिको विकासले सञ्चारमाध्यमसँग पनि पल पलमा नयाँ खबरको भोको रहन्छन् नागरिक । तर उनीहरुको भोक मेट्ने बहानामा हामीले दिने सुचना गलत नहोस भनेर थप जिम्मेवार हुनैपर्छ । मानिस निरोगी हुनका लागि सफा र शुद्ध वातावरण र खानपान चाहिएजस्तै समाजलाई शुद्ध पार्न सूचना शुद्ध हुनैपर्छ । खुल्ला दिसामुक्त घोषणा गर्न निश्चित प्रतिशत सौचालय बने पुग्छ ।
पूर्ण साक्षरता घोषणा गर्न निश्चित प्रतिशत साक्षर भए पुग्छ । परीक्षामा उतीर्ण हुन निश्चित प्रतिशत अंक ल्याए पुग्छ । तर समाचार सतप्रतिशत सत्य हुनुपर्छ । यसो नभए हामी पत्रकार रहेनौ भने हामीले लेखेका÷बोलेका कुराको विश्वसनियता कमजोर बन्दै जान्छ, त्यसो हुनु भनेको पत्रकारिताप्रतिकै नागरिकको भरोसा घट्दै जानु हो । नागरिकको अपेक्षा छ, समाजको स्पष्ट चित्र बोलिनुपर्छ, छापिनुपर्छ । उनीहरुको अपेक्षा पुरा गर्नु हाम्रो धर्म पनि हो । त्यसैले नागरिकको अपेक्षा अनुसार विकासको गति सबैतिर समान र सन्तुलित बनाउन खबरदारी गर्न हाम्रो कलम पछि पर्नु हुदैन । त्यसो त, कसैको बढाईचढाई गरेको, गलत आरोप लगाएको जस्ता गुनासा पनि बेलाबेला आउने गरेका छन् । यस्ता आरोपलाई गलत सावित गर्ने भनेको चोकचोकमा तर्क गरेर होइन, हाम्रो लेखाई र बोलाईबाटै हो । अब हाम्रा कलम समस्याका चाङसँगै समाधानका उपायको खोजीमा दौड्नु जरुरी छ । कम्तीमा पनि गोरखा बजार सरह जिल्लाको चुमनुब्री र धार्चेका बासिन्दाले जीवनयापन गर्न सकुन्, यसतर्फ हाम्रो ध्यान जानु जरुरी छ । एउटा गाउँमा मोटरबाटो पुगेको खबर अर्को गाउँका लागि प्रेरणा हुनसक्छ ।
एउटा गाउँका महिलाहरु ब्यबसायिक काममा लागेका खबरले अर्को गाउँका महिलालाई केहि गरौ भन्ने भाव जाग्न सक्छ । यसैले गाउँको स्रोत साधन मार्फत विकास र संवृद्धिको उपायको खोजी गर्न हाम्रो कलम अघिबढ्नु जरुरी छ ।
पत्रकार आफैं अन्तर्यामी होइन, बजारको एउटा कुनामा बसेर उसले सबै नयाँ कुरा थाहा पाउने पनि होइन । पत्रकारको सूचनाको मुख्य स्रोत भनेको समाज हो । समाजसँग पत्रकारको मुख्य त दुईवटा अपेक्षा हुन सक्छन् । पहिलो, गाउँका विकृति, विसंगति, भ्रष्टाचारजन्य क्रियाकलाप, राम्रा काम, नराम्रा काम जो पत्रकार वा सञ्चारमाध्यमसम्म आइपुगोस् । दोस्रो, जहाँसुकैको होस् प्रकाशन र प्रशारण भएका सामग्रीको विश्वसनीयतामाथि शंका लागेमा गर्ने खवरदारी । नागरिकले जति अपेक्षा गर्छन्, त्यसले एउटा पत्रकारलाई गतिशील बनाइराख्न र केही नयाँ कुरा दिइराख्न झन् प्रेरित गरिरहन्छ । पढौं, सुनौं र पृष्ठपोषण गरौं ।

प्रतिक्रिया दिनुहोस्