
प्रकाशकीयः न्यूमिडिया र अधिनायकवादको चुनौतीसंग जुध्दै
दूर दराजका नागरिकलाई सेवामा सहज पहुँच पुगोस् भन्ने उद्देश्यले ७० को दशकदेखि संघीय शासन प्रणाली लागु भएको हो । तर मिडियामा संघीयता एक कदम अघि नै आएको थियो । काठमाडौंबाट प्रकाशित, प्रशारित सञ्चारका माध्यमले दूरदराजका सबै खोज खबरलाई स्थान दिन सक्दैनन् । र काठमाडौंबाट प्रकाशित, प्रशारित मिडियामा दूर दराजका सबै नागरिकको पहुँच पनि पुग्दैन । त्यसैले ‘आफ्ना समाचार आफ्नै माध्यम’ भन्ने अवधारणाअनुसार ५० को दशकदेखि नै मोफसलमा मिडियाहरु खुल्न थालेका हुन् ।
त्यही मेलोमा हो गोरखामा पहिलो पटक समाचारमुलक पत्रिका दरौंदी प्रकाशित भएको पनि । अर्थात २०५५ साल वैशाख १ गतेदेखि गोरखाको माटोमा समाचारमुलक पत्रिका दरौंदीको जन्म भएको थियो । त्यतिबेला १५ दिनमा एकदिन प्रकाशित हुन्थ्यो, अर्थात यसको प्रकाशन पाक्षिक रुपमा हुन्थ्यो । ६० को दसकको सुरुतिर साप्ताहिकमा रुपान्तरण भयो । २०६७ सालको असोज १ बाट दैनिक रुपमा प्रकाशन सुरु भएको हो ।
अहिले दरौदी २९ बर्षको परिपक्क वयमा छ । त्यसैले जिल्लामा, देश, विदेशमा रहनु भएका गोरखाबासी दरौंदीमा विश्वास गर्नुहुन्छ भन्ने विश्वास छ । समय डिजटलिकृत हुँदैछ । यो बेला हामी न्यू मिडियाको चुनौतिसंग जुध्नु परिरहेको छ । मूलधारका मिडिया, जसलाई परम्परावादी मिडिया पनि भनिन्छ, का आफ्नै सीमाहरु छन् । यी सीमाभित्र रहेर सीमाहीन न्यूमिडियासित जुध्न सहज छैन । त्यसैले आंशिक रुपमा न्यूमिडियाको स्वरुप पनि हामीले ग्रहण गरिरहेका छौँ । मूलधारका मिडियाको काया पनि सुरक्षित नै छ ।
विश्वासनीय होस् वा अविश्वासनीय, बजार न्यूमिडियाको छ भनेर स्वीकार नगरी सुख छैन । विषयगत गहनता होस् वा नहोस्, व्यापकता न्यू मिडियाको छ नभनी सुख छैन । नैतिक सीमाभित्र होस्, नहोस् न्यू मिडिया जनजनमा छ नभनी सुखै छैन ।
त्यसैले अहिले शासकको रोजाइमा पनि न्यू मिडिया नै ।
मूलधारको मिडियाप्रति आस्था नराख्ने प्रवृत्ति हावी भएकै कारण अहिलेका शासकहरु आफ्ना धारणा, विचार, भावना पनि मूलधारका मिडिया छाडेर न्यू मिडिया, त्यसमा पनि सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्छन् । मिडियाको प्राण भनेकै विज्ञापन हो । यो शासन व्यवस्थाले मिडियाको प्राणका रुपमा रहेका सूचना, विज्ञापन कटौतीको नीति अवलम्बन गरेको अवस्था छ । यो जटिल अवस्थामा परम्परावादी मिडियाले आफ्नो प्रतिष्ठा जोगाउनै धौ छ, टिक्नै धौ छ ।
गोपालप्रसाद रिमालको आमाको सपना कवितामा
‘आमा, त्यो आउँछ र ?
हो, बा, त्यो आउँछ
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ’ भनेझैँ एकदिन पक्कै सुनौला दिन आउँछ भन्ने आशामा अहिले हिडिरहेको अवस्था छ । समसामयिक चुनौतिको माला भिर्दै अधिनायकवादसंग जुध्दै हिड्नु अहिलेको वाध्यता छ ।
आज २९ औं वर्ष प्रवेशको अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, व्यापारी व्यवसायी, शुभेच्छुक, शुभचिन्तक, सहकर्मी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।




